कांगेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाण्डौं,१९ फागुन ।
नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार भोलि २० गते ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ ।

उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने समिति सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो ।

यसैबीच, नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रकाशमान सिंहलाई अघि सार्ने निर्णय गरेको छ । पौडेल समूहको शुक्रबार बसेको बैठकले सिंहलाई अघि सार्ने निर्णय गरेको हो ।

सभापति देउवा असफल भएको भन्दै सिंहले चुनाव लगतै दलको नेता दाबी गर्दै आउनुभएको छ । महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत दलको नेता बनाउने प्रयास पनि भएको थियो ।

तर, देउवाले कोइरालालाई पनि नछाड्ने र आफैं उठ्ने संकेत दिनुभएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ३२ भोट ल्याउने उम्मेदवार दलको नेता बन्नेछन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया