धम्कीको भरमा करोडौं उठाउँथे, तर खर्च मात्रै पाउँथे !

काठमाडौं–‘छोरीको बिहे गरिस्, हैन । तेरा दुई छोरा छन्, तिनीहरु मध्ये एउटालाई मार्दिन्छु, छोरो ठूलो कि दुई करोड ?’

काठमाडौंको नयाँ बानेश्वरमा शरद गौचनमाथि गोली प्रहार भएपछि भक्तपुरका एक इट्टा ब्यवसायीलाई टेलिफोनबाट यस्तो धम्की आयो । नेपाली नम्बरबाटै आएको यस्तो धम्कीपछि उनी केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगे, प्रहरी अनुसन्धानको क्रममा उक्त फोन नेपाली नम्बर डिस्प्ले हुनेगरी भारतबाट आएको देखियो ।

रुपन्देहीको देवदहमा गत साता मनोज पुन ‘इन्काउन्टर’मा मारिएपछि उनको डायरी हेर्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकृत चकित भए । भक्तपुरको ती इट्टा व्यापारीको नाम मनोज पुनको डायरीमा लेखिएको थियो । जसमा मनोजले कोड भाषामा लेखेका थिए, ‘भक्तपुरको इट्टावाला, फोन नम्बर, दुई करोड मध्ये लिने रकमको डिल हुन बाँकी ।’

गुण्डा नाईके मनोज पुनले भक्तपुर, पोखरा, बुटवल, भैरहवा, नवलपरासी र कपिलवस्तुका ब्यवसायीलाई त्यसैगरी फोन गरेर करोडौंको माग गर्थे । रकम नदिए गोलीले उडाउने धम्की दिन्थे ।

रुपन्देहीको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाएर गुण्डा नाइकेको रुपमा चिनिएका मनोज २०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारीमाथि गोली प्रहार गर्नुभन्दा पहिले नै भारतमा बस्न थालेका थिए ।

भारतमा बसेर नेपालमा आतंक सिर्जना गर्दै करोडौं उठाउने पुनलाई मुम्बईका गुण्डा नाईके बिटु सिंह भनिने ‘जोगिन्दर’ ले संरक्षण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसरी करोडौं उठाउने मनोज भारतमा सामान्य तरिकाले बसेका थिए । रुपन्देहीमा उनको परिवार अभावमा बाँचेको थियो । उनकी श्रीमती ‘मनी ट्रान्सफर’ मा सामान्य कर्मचारी छिन् ।

त्यसो भए, मनोजले धम्क्याएर उठाएको करोडौं के गर्थे ?

विगत एक बर्षदेखि मनोज पुनबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार नेपालबाट उठाएको करोडौं रुपैयाँ जोगिन्दरले लिन्थे । अनि मनोजलाई खर्च मात्रै दिन्थे ।

‘मनोज जोगिन्दरको सहयोग बिना भारतमा बस्न सम्भव थिएन’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत भन्छन्, ‘भारतमा सेल्टर दिएर जोगिन्दरले मनोजलाई प्रयोग गरे, अनि यताबाट उठाएको करोडौं आफैंले चलाए ।’

मनोजले कसरी भेटे जोगिन्दर ?
मुम्बई स्थायी घर भएका बिटु सिंह भनिने ‘जोगिन्दर’ अपराधको दुनियाँबाटै उदाएका हुन् ।

भारतीय सुरक्षा निकायको केही उच्च पदस्थहरुसँग राम्रो हिमचिम भएका जोगिन्दरले भारतीय सुरक्षा एजेन्सीलाई मुस्लिम आतंकवादीहरुको सूचना दिन्थे ।

नेपालका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका ‘मोस्ट वाण्टेड’लाई भारतमा संरक्षण दिँदै आएका जोगिन्दरसँग मनोजलाई सोम बहादुर आलेले चिनजान गराएका थिए ।

भारतीय सेनामा ५ बर्ष जागिर खाएर छाडेका सोम आले राम्रो बक्सिङ खेलाडी समेत थिए । डाका मुद्धामा जेल परेको बेला भैरहवा कारागारमा मनोज र सोमवीचमा चिनजान भएको थियो । पछि मनोजकै सहयोगीको रुपमा देखा परेका सोम आले भारतीय सेनामा हुँदा नै जोगिन्दरसँग चिनजान भैसकेको हुनसक्ने बताइएको छ ।

जोगिन्दरको ससुराली रुपन्देही हो । प्रहरी स्रोतका अनुसार नेपाली पासपोर्ट समेत बनाएका ४५ बर्र्षीय जोगिन्दरले रुपन्देहीको बिमला नामकी महिलासँग विवाह गरेका थिए ।

पछिल्लो समय रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रमा नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचिमा रहेकाहरुलाई भारतमा जोगिन्दरले सेल्टर दिँदै आएका छन् ।

रुपन्देहीका केदार सहनी, अर्जुन गौतम, कृष्ण गौतम र रियाज फकिर पछिल्लो सयम रुपन्देही प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको फरार अपराधी हुन । ‘कतै सहनी र गौतमहरुलाई जोगिन्दरले उपयोग गर्ने त हैनन ?’ मनोज इन्काउन्टरलाई नजिकबाट नियालेएका एक प्रहरी अधिकृत भन्छन्, ‘मनोज पुन प्रहरीसँगको मुठभेडमा मारिएपछि फेरि जोगिन्दरले अर्का मनोज उत्पादन गर्न बेर लाग्दैन ।’

डायरीभरी ब्यापारीको नाम र टेलिफोन नम्बर
श्रीमतीसँग सम्पर्कविहीन भएर बसेका मनोज पुन भारतमा रसियन युवतीहरुसँगको रोमान्समा रमाउँथे ।

उनी रोमान्समा मात्रै कहाँ भुल्थे र !

नेपालमा पैसा मागेका, उठाएका र पैसा असुल्न बाँकी ब्यापारीको सूची आफ्नो डायरीमा चुस्त दुरुस्त राख्थे ।

‘ब्यापारीको नाम, नम्बर मागेको रकम र ओके भएको रकमले उनको डायरी भरिएको थियो’ मनोजको अनुसन्धानमा संलग्न एक प्रहरी अफिसर भन्छन्, ‘काठमाडौं, चितवन र रुपन्देहीका अधिकांश ब्यापारीको नम्बर र डिल भएको पैसाको अंकले उनको डायरी भरिएको थियो ।’

रातोपाटी अनलाईनबाट

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया