सडकको दुरावस्था गराउनेलाई पुनः ठेक्का

 

सन्तोष अधिकारी, दाङ, १५ फागुन ।

सडक निर्माणको ठेक्का पाएको शंकरमाली कन्स्ट्रक्सनले काममा लापरबाही गरिरहेको प्रस्टै देख्न सकिन्छ । सडक निर्माणको ठेक्का हात पारेर काम नगरिरहेको कम्पनीले अरू थप ठेक्का पनि पाइरहेको छ । कन्स्ट्रक्सनलाई घोराही–लमही सडकखण्डको कटुवा खोला र घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा पुल निर्माणको ठेक्का भर्खरै दिइएको छ । लिएको काम समयमै सम्पन्न गर्न नसक्ने कम्पनीलाई पुन ठेक्का दिएकोमा स्थानीयवासीहरु आक्रोशित छन् ।

घोराही–तुलसीपुर तथा घोराही–लमही सडकखण्डका मुख्य चोकमा निर्माणाधीन चारलेन सडकमा अपेक्षा अनुसारको काम नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ । घोराही बजारको बिच भागमा पर्ने उक्त सडकखण्डमा चल्ने सवारीसाधनले उडाएको धुलोका कारण वातावरण समेत प्रदूषित भैरहेको छ  भने व्यपार गर्ने व्यापारीहरु समेत हैरान भएकाछन् । केही दिन अघि सडकमा रहेका खाल्डा खल्डी तथा सडकमा उड्ने धुलोका कारण जनजीवन कष्टकर भएको भन्दै तुलसीपुर बजारमा युवाले सडक अवरुद्ध गरेका थिए ।

स्थानीय नागरीकहरुले सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाब दिए पनि  अझैंसम्म सुनुवाइ भएको छैन । सडक निर्माणको जिम्मा लिएको कम्पनीले डाइभर्सनको विकल्प नदिदा यातायात सञ्चालनमा समेत कठिनाइ आएको यातायात व्यवसायीहरु बताउछन् । निर्माण गर्न भन्दै भएको सडक भत्काउने र नयाँ बनाउन लामो समय लगाउने समस्याले निर्माण कम्पनी संग नागरीकहरु रुष्ट बनेकाछन् ।

सडक निर्माणमा तदारुकता देखाउन माग गर्दै नागरिक समाज र व्यवसायीहरूले पटक पटक जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय र उप महानगरपालिका धाइसकेका छन् । घोराही उप महानगरपालिका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उप महानगरपालिका प्रमुख घनश्याम पाण्डेले पनि सडक निर्माणमा भइरहेको लापरबाहीबारे पटक–पटक सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको ध्यानाकर्षण गराइसकिएको बताएपनि अहिलेसम्म काममा खासै प्रगती नहुनुले निर्माण कम्पनीले जनप्रतिनिधिहरुलाई समेत नटेरेको स्थानीयवासी पर्शुराम भुषालले बताए ।

दुवै खोलाको पुल निर्माणमा अहिलेसम्म अपेक्षा गरीए अनुसार प्रगति हुन सकेको छैन । शंकर मालीभन्दा धेरै वर्षपछि काम सुरु गरेका अन्य कम्पनीले संक्राम, गुज्रे र बबई खोलाको पुलमा धेरै प्रगति गरिसकेका छन् । उनीहरूले पिल्लर तयार पारी स्पान राखेर ढलानसमेत गर्न थालिसकेका छन् भने शंकरमालीले भने चारवर्षमा कटुवाखोलामा पिल्लर मात्रै ठड्याएको छ ।

पत्रेखोलामा लामो समयदेखि खाल्डो खन्ने र भत्काउनेबाहेक अरु प्रगति भएको छैन ।  पुल निर्माणमा यति धेरै लापरबाही गरिरहेको शंकर मालीले नै चारलेन सडक निर्माणको ठेक्का पाएकोमा मध्यपश्चिम क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय घोराहीका प्रमुख बद्रीप्रसाद शर्मा नै अचम्ममा परेकाछन् । “यो त मलाई पनि अचम्म लागिरहेको छ , जसले कामै गरेको छैन उसैले नै धेरै ठेक्का पाएको छ” शर्माले भने । काम नै नगरे ठेक्का तोड्न सकिने भए पनि अलिअलि काम गरिरहेको अवस्थामा छिटो गर्न ताकेता गर्नेबाहेक अरु केही गर्न नसकिने प्रमुख शर्माले बताए । “हामीले ठेक्का नै नदिन सक्दैनौं फेरि कुनै टेन्डर खुल्यो र अरूभन्दा कम कबोल ग¥यो भने उसैले पाउन सक्छ” उनले भने ।

ठेक्काबाटै वञ्चित गर्न नसकिने हाम्रो नियमकानुन भएकोले पनि ठेकेदारहरुले ढिला गर्नेगरेको उनको भनाई छ । “सुस्त गतिमा काम गरिरहेको छ  नागरिकबाट पनि धेरै गुनासो आएको छ , हामीले काम समयमा गर्न ताकेता गरिरहेका छौं । शर्माले भने ।  सरकारले यस वर्षको बजेट समयमा नपठाउँदा पनि निर्माणमा ढिलाइ भइरहेको शर्माले बताए । “अहिले जिल्लाका कुनै पनि पुल र सडकको बजेट आएको छैन, यो आर्थिक वर्षको बजेटबाट केही पनि नआउँदा चलिरहेका योजना सुचारु गर्न कठिनाइ भएको शर्माको भनाई छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया