धनगढी– टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । टिकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका चौधरीले जिल्ला अदालतमा सोमबार मात्र आत्मसमर्पण गरेका थिए । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले आज चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो ।
कैलालीको टीकापुर घटनालगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका थिए । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।
अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरेका थिए ।
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।
रातोपाटीबाट