प्याकेजमै सहमति गर्दै एमाले र माओवादी

काठमाण्डौं,६ फागुण ।
एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तारमा प्याकेजमै सहमति गर्ने भएका छन् । पार्टी एक भएपछि नेताहरुबीच हुनसक्ने जिम्मेवारी विभाजनलाई अहिले नै टुङ्गो लगाएर एकता गर्ने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।

हिजो भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । दुई पार्टीबीच एकताका लागि सैद्धान्तिक–वैचारिक पक्षमा केन्द्रित रहेर गत बुधबार छलफल भए पनि दुई दिनयता सरकार गठनका कारण स्थगित वार्ता अघि बढ्न सकेको थिएन । दुवै नेताबीचको आजको एकता वार्तापछि आज नै एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेजमै सहमति खोज्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । बैठकको समय भने तय गरिएको छैन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया