प्रधानमन्त्री ओलीले जनताका नाममा शपथ खाए

काठमाण्डौं,३ फाल्गुण ।
नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । आज अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिनुभएको हो । ओलीले जनताको नाममा सपथ लिनुभएको थियो ।

समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीको सहभागिता रहेको थियो । त्यसअघि आजै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । हिजो मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो । आयोगले नतिजा बुझाएलगत्तै दल नयाँ सरकार गठनमा लाग्नुभएको हो । यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपतिसमक्ष पेश गरेका थिए ।

यसैविच प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । ओलीको सिफारिसमा लालबाबु पण्डित र थममाया थापा मन्त्री बन्नुभएको हो । तर माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन । मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएको माओवादीले जनाएको छ । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया