प्रदेश ३ का मुख्यमन्त्री पौडेलकाे सपथ अाज

मकवानपुर – प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेश नम्बर ३ संसदीय दलको नेता चुनिएका उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो ।

प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आइतबार साँझ पत्रकार सम्मेलन गरी पौडेल मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए । एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ सांसदको हस्ताक्षरसहितको पत्र र माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कटेलको समर्थनपत्र दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए।

सो पत्र पाएपछि प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम ७२ वर्षीय पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

संसदीय दलको नेता चुन्न शुक्रबार ललितपुरमा भएको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी पार्टी केन्द्रीय उपाध्यक्ष एवं ३ नम्बर प्रदेश कमिटी संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई १० मतले पछि पार्दै जित हात पारेका थिए । पौडेलले ३४ मत  पाएका थिए । प्रतिस्पर्धी शाक्यले २४ मत पाएकी थिइन् । पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट र शाक्य वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार
प्रतिक्रिया