काठमाण्डौं,२३ माघ ।
नेपालमा सवारी दुर्घटनाबाट हरेक वर्ष दुई हजारको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७०/०७१ मा एक हजार ७८७, ०७१/०७२ मा दुई हजार चार, ०७२/०७३ मा दुई हजार छ, ०७३/०७४ मा दुई हजार ३८४ र ०७४/०७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । आव ०७०/०७१ मा आठ हजार ४०६, ०७१/०७२ नौ हजार १४५, ०७२/०७३ मा १० हजार १३, ०७३/०७४ मा १० हजार १७८ र र ०७४/०७५ को कात्तिक मसान्त अर्थात् चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।
सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।