लक्ष्मण विश्वकर्मा,तुलसीपुर २० माघ ।
तुलसीपुर उपमहानगरपालिकाले व्यक्तिगत घटना विवरण अनलाईन मार्फत दर्ता गर्ने भनेता पनि सवै वडामा कम्प्युटर प्रणाली मार्फत काम हुन सकेको छैन । उपमहानगरपालिकाले १९ वटै वडामा कम्प्युटर जडान गरी काम सन्चालन गर्नका लागी कम्प्युटर खरिद गरे पनि विभिन्न कारणले गर्दा अझै ६ वटा वडामा कम्प्युटर प्रयोगमा आउन सकेको छैन ।
नगरको वडा नं. ३,७,१३,१४,१५ र १९ वडामा अहिले सम्म कम्प्युटर प्रणाली मार्फत काम हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १३ वटा वडामा मात्र कम्प्युटर प्रणाली मार्फत सेवा प्रवाह भईरहेको छ । केहि वडामा कम्प्युटर प्रणाली प्रयोगमा आउन नसक्दा सेवाग्राहीहरु उपमहानगरपालिका आउनुपर्ने बाध्यता रहेको छ ।
कार्यालयले कम्प्युटर खरिद गरेको लामो समय वितिसक्दा पनि कतिपय वडामा ईन्टरनेट, विद्युत लाईनको समस्या देखीएको छ भने कतिपय वडामा कम्प्युटर चलाउने दक्ष कर्मचारीको अभाव देखीएको तुलसीपुर उपमहानगरपालिका कार्यालयका प्रशासकिय अधिकृत टोपेन्द्र केसीले बताएका छन् । उनका अनुसार वडा नम्वर १३ बाहेक अन्य वडामा छिटै कम्प्युटर प्रणाली मार्फत सेवा सन्चालन हुने प्रक्रियामा रहेका छन् ।।