तुलसीपुर १३ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष वेदु केसीले जेष्ठ नगारिकको घर–घरमा गएर न्यानो कपडा वितरण गर्नु भएको छ । अन्य वडाहरुले औपचारीक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिहेका बेला अध्यक्ष केसीले भने घरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो कपडा प्रदान गर्नुभएको हो ।
जेष्ठ नागरिकहरुलाई आवत–जावत गर्न असहज र भेटघाट पनि हुने भएकाले घरमै गएर न्यानो कपडा वितरण गरिएको अध्यक्ष केसीले बताउनु भयो । ‘उमेर ढल्की सकेका जेष्ठ नागरिकहरुसंग भेटघाट र सन्चोविसन्चोका बारेमा प्रत्यक्ष कुराकानी पनि हुन्छ,–अध्यक्ष केसीले भने–‘ हिडडुल गर्न नसक्नेहरुलाई पनि सजीलो हुन्छ ।’
जनताको काम गर्नका लागि आएकाले यस्तो काम गर्न कुनै संकोच र अपठेरो नमान्ने अध्यक्ष केसीले बताए । वडामा गैर दलित ३ जना र अन्य गरी २३ जनालाई अध्यक्ष घरमै पुगेर सम्मान र न्यानो कपडा वितरण गरेका छन् । तुलसीपुर उपमहानगरपालिको जेष्ठ नागरिकलाई न्यानो कपडा दिने कार्यविधि पारित गरे पछि १९ वटै वडाले धमाधम जेष्ठ नगारिकलाई सम्मान र न्यानो कपडा वितरण गरिहेका छन् ।