५० लाख नगद नभए मेला रोकिदैन : बहिरा संघ

तुलसीपुर, ९ माघ
राप्ती बहिरा संघ तुलसीपुरले नगद पैसा हातमा नपर्दा सम्म मेला नरोक्ने बताएको छ । तुलसीपुरमा मंगलबार बसेको सर्वदलिय बैठकमा बहिरा बालबालिकाको  छात्राबास निर्माणका लागि जग्गा र ५० लाखको कोषको स्थापना गर्ने प्रस्ताव आएपछि बहिरा संघले यस्तो प्रतिकृया दिएको हो । सर्वदलीय बैठकमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले मेला रोकेमा उपमहानगरपालिकाले २५ लाख र उद्योगबाणिज्य संघले २५ लाख सहित ५० लाखको कोष स्थापना गर्ने प्रस्ताव गर्नु भएको थियो भने नगर विकास समितिका अध्यक्ष यज्ञ केसीले जग्गा उपलब्ध गराउने बताउनु भएको थियो ।

यता बहिरा संघका निर्देशक प्रतिमा शर्माले ५० लाख हातमा नगद दिनु पर्ने र जग्गा उपलब्ध गराउने लिखित रुपमा सहमति भएमा मात्रै मेला रोक्ने बताउनुभयो । ‘२२ गते पछि सीडियो सावले मेला लगाउन दिन्न भन्नुहुन्छ,’ निदेर्शक शर्माले भन्नुभयो,–‘ लिखित प्रतिवद्धता र ह्यान्ड टु ह्याण्ड क्यास नहुँदा सम्म मेलाको काम रोकिदैन मेला लगाएर छोड्छौं ।’
तुलसीपुरको अरनिको मैदानमा राप्ती बहिरा संघले मेला लगाउने तयारी गरीरहेका बेला तुलसीपुर उद्योगबाणिज्य संघले मेला लगाउन नदिने अडान राखे पछि विवाद मिलाउन तुलसीपुर उपमहानगरपालिकाले, बाहिरा संघ, उद्योगबाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासन, अपाङ्ग संघ, विभिन्न राजनीतिक दलका प्रतिनिधीलाई बोलाएर छलफल गरेको थियो ।

बैठकमा सहभागी अधिकांसले विवादित अवस्थामा मेला नलगाउन आयोजकलाई सुझाव दिएका थिए । मेला लगाउदा घाटा व्योहोरका थुप्रै उदाहरण भएको चर्चा गर्दै सहभागीले तुलसीपुर उपमहानगरपालिकाले राखेको प्रस्तावलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेका थिए ।
यसैविच मेला लगाउने या नलगाउने विषयमा टुङ्गो लगाउन नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा, उद्योगबाणिज्य संघ, राप्ती बहिरा संघ, अपाङ्ग संघ, राजनीतिक दल, तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्था, इलाका प्रशासनका प्रधिनिधी सदस्य रहनेछन् । कार्यदलको बैठक विहिवार विहान आठ बजे बस्नेछ ।

राप्ती बहिरा संघले बहिरा बालबालिकाहरुको छात्राबास निर्माणका लागि भन्दै माघ १५ गते देखि २२ गते सम्म मेला लगाउने तयारी गरीरहेका बेला तुलसीपुर उद्योगबाणिज्य संघ भने विरोधमा उत्रीएको छ । बाणिज्य संघले मेला ठेक्कामा दिदा उद्देश्य परिपूर्ति नहुने, यस क्षेत्रका व्यवसायीलाई कम्तीमा ६ महिना व्यापार घाटा हुने र पैसा बाहिर जाने भन्दै मेला लगाउन नदिने पक्षमा रहेकोछ ।
बैठकमा, नेकपा एमालेका पदम केसी, नेपाली कांग्रेसका भिमबहादुर भण्डारी, इलाका प्रशासन कार्यालय तुलसीपुरका धनबहादुर केसी, महिला रक्षक संजालका केन्द्रीय सचिव लक्ष्मी आचार्य नेविसंघका अरुण लहरे, तुलसीपुर खानेपानीका खेमराज वली लगाएतले बोल्नु भएको थियो । तुलसीपुर उद्योग बाणिज्य संघले मेलाका लागि आएको एक ट्रक सामान सोमबार झार्न नदिएर फर्काइदिएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार
प्रतिक्रिया