कष्ठपूर्ण जीवन जीउदै मानसीक रोगीहरु

तुलसीपुर, ३० पुष
नाम केहो ? पतानही । घर काहाँ हो ? पटना । २७/२८ बर्षको देखिने भारतीय मूलका एक जना मानसीक सन्तुलन गुमेका (मगज विग्रेका) युवक बर्षौ देखि गाउँमा हिड्छन् । अधिकांस मानसीक सन्तुलन गुमेकाहरुको बासस्थान बजार क्षेत्र भए पनि उनि भने तुलसीपुर बजार नजिकै रहेको गाउँ, दोघरे, दुधेना, अश्वारा, टिकरी, थर्कोडाडाँ लगाएतका गाउँमा डुली हिड्छन् । नबोली हिड्ने ती भारतीय मूलका नागरिक गाउँमा कसैको घरमा पुगे भने अलि टाढा अछट्टै चुपचाप लागेर बसीरहन्छन् । खाना वा पैसा दिएमा जुरुक उठेर वाटो लाग्छन् ।
‘तीन चार बर्ष देखी यतैमा हिडेको देखिन्छ, तुलसीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर निवासी दशरथ वलीले भने, साँझपख भने वरपिपलको रुखमूनि गएर बस्छन ।’
यी नागरिक त प्रतिनिधि पात्र मात्रै हुन । मानसीक सन्तुलन गुमेकाहरु तुलसीपुर बजारमा बर्षौ देखि पिडादायी जीवन जिउन बाध्य छन् । तुलसीपुर क्षेत्रमा रहेका ९ जना मध्य २ जना महिला छन् । उनिहरुले होटेल र सडक पेटिमा फयाँकेका सडेगलेका खानेकुरा खाएर भएपनि भोको पेट भर्ने प्रयास गर्छन । बर्षौ देखि खुल्ला आकास मुनी वस्दै आएका उनिहरुको दैनिकी कष्ठकर छ ।
घर ठेगाना नाम थर पत्ता नलाग्ने उनिहरु कहाँबाट कसरी आउँछन त्यसको लेखाजोखा कसैले गरेको छैन । कतिपयको बुझाईमा उनिहरुलाई गाडिवालाहरुले पैसा खाएर एक सहरबाट अर्को सहमार लगेर छोडिदिन्छन् भन्ने पनि गरिन्छ । यीनीहरुको प्रति न त राज्यको चासो छ, न अन्य कुनै सरोकारवाला निकायको ।

‘दिनभरी बजारमा डूल्छन्’– तुलसीपुरका व्यवसायी टोपबहादुर घर्तिले भन्नुभयो – साँझ प¥यो भने बराण्डामा ओत लागेर बस्छन् ।’

घाम, पानी, चिसो तातो, दुःख विरामी, भोक प्यासबाट पिडित मानसीक सन्तुलन गुमेकाहरुका लागि सरकारले संरक्षण गर्नु पर्ने घर्तीले बताउनुभयो । सरकारले निश्चित स्थान तोकेर बस्ने व्यवस्था गरिदिएमा सहयोगी हातहरु जुट्ने भएकाले ठूलो राहात हुने व्यवसायी घर्तीको भनाई छ ।
‘बर्षौ देखि उएटै कपडामा हुन्छन् ’ – व्यवसायी घर्तीले भन्नुभयो – वस्ने व्यवस्था भयो भने, कम्तिमा पेटभरी खाने, आरामसंग सुत्ने, सरसफाई गर्न पाउने थिए ।’ शरिरमा लगाएको कपडा बाहयक अर्को कपडा नहुँदा फाटेको कपडा संगै दुर्गन्धित अवस्थामा रहेका उनिहरु मानिसको नजिक केहि पाउने आशले गए पनि उल्टै खप्की खाएर फर्किन्छन ।

के भन्छ कानुनले ?
मानसीक सन्तुलन गुमेकाहरुका लागि छुट्टै ऐन कानुन नवनेको बरिष्ठ अधिवक्ता बामदेश शर्माले बताए । छाडा पशुचौपायको संरक्षणमा जुटिरहेका बेला, छाडारुपमा रहेका मानिसलागि मानवीय नाताले पनि राज्यले वा स्थानीय तहले उनीहरुको संरक्षण र पालपोषण गर्नु पर्ने बरिष्ठ अधिवक्ता शर्माको तर्क छ ।
‘उहिले बौलाहा देख्ने वित्तिकै जेलमा हाल्ने चलन थियो’– शर्माले भने – जेलमा बस्दा, खानपाउथे घामपानीबाट बच्थे अब त कसैलाई मतलव छैन् । ’
संरक्षण गर्ने पहिलो दायित्व आफन्तको भए पनि आफन्त नहुँदा संरक्षणको जिम्मा राज्यले लिनु पर्ने कानुन व्यवसायीले बताएका छन् ।
राज्यले नैतिकताको आधारमा मानसीक सन्तुलन गुमेकाहरुको संरक्षण गरेर औषधी उपचार गर्नु पर्ने अधिवक्ता प्रविण लम्सालले बताए । जेष्ठ नागरिक, अपाङ्गगता भएकाहरुका लागि राज्यले समाजिका सुरक्षा भत्ताको व्यवस्था गरेजस्तै उनिहरुका लागि पनि केहि न केहि व्यवस्था गर्नु अत्यन्त जरुरी रहेको अधिवक्ता लम्सालको भनाई छ । यो देशमा राज्य छ भन्ने अनुभूति नागरिकलाई गराउने हो भने संरक्षण गर्न आवश्यक रहेको लम्साले भने ।

 

 

 

 

प्रकाशित मिति : २०७४ पुष ३० गते आइतवार
प्रतिक्रिया