माओवादी नेता महरा भन्छन- समानुपातिक सूची सार्वजनिक नगर्दा देश अस्थिर

तुलसीपुर,२५ पुस ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले समानुपातिक तर्फका प्रतिनिधी सभा सदस्यको नामावली सार्वजिनक नगरेर बेइमानी गरेको बताउनुभएको छ । तुलसीपुर नगरविकास समितीले गरेको स्वागत कार्यक्रममा बोल्दै महराले निर्वाचन आयोगले समानुपातिक सूची सार्वजनिक नगर्दा देश अस्थिर भएको बताउनुभयो ।

निर्वाचन आयोगको बेइमानीका कारण नयाँ सरकार गठनको बाटो नखुलेको उहाँको भनाई छ । आयोगले सूची सार्वजनिक नगरे आयोगका पदाधिकारीकालागि प्रत्युपादक हुने उहाँले चेतावनी दिनुभयो । बिना बिभागिय मन्त्री समेत हरनु भएका नेता महराले सरकारले पाँच नम्वर प्रदेशको राजधानी दाङ तोक्ने समेत बताउनुभयो ।

उहाँले बताउनुभयो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले जनमत गुमाइसकेको काँग्रेसले सरकार नछाङेर राज्यको ढुकुटीको दोहोन गरेको बताउनुभयो । काँग्रेसलाई सरकारमा बस्ने नैतिकता नभएको भन्दै केसीले नैतिकता भए प्रधानमन्त्री देउवालाई राजीनामा दिनु सुझाव दिनुभयो ।

प्रदेश सभा सदस्य उत्तरकुमार वलीले देशको सम्वृद्धीकालागी कम्युनिष्ट सरकारको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले प्रदेशको राजधानी नतोकेर आफ्नो जिम्मेवारीबाट भागेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले नेताहरुलाई विकासमा राजनीती नगर्न आग्रह गर्नुभयो ।

दाङको विकासका लागि सबै पार्टीका नेता एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो । तुलसीपुर नगर विकास समितीका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली,तुलसीपुर उद्योग वाणिज्य संंघका अध्यक्ष बिरु रावत लगाएतकाले बोल्नु भएको थियो भने सहजीकरण शरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया