बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा, डा. केसी आज पनि थुनामै रहने

काठमाडौं– सोमबार त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेर आज सर्वोच्च अदालतमा  हाजिर गराइएका डाक्टर गोविन्द केसीले बयान दिएका छन् ।
बयानका क्रममा उनले  अदालतको नभई  न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै  विरोध गरेको बताएका छन् ।  दिउँसो २ बजेपछि अवहेलनासम्बन्धी मुद्दामा उनको बयान सुरु भएको थियो ।

उनले  पराजुलीले दुईटा नागरिकता राखेको, उमेर सच्याएर जागिर खाएको, पदीय मर्यादा नाघेको, भ्रष्ट छबी भएकोलगायतका आरोप लगाउँदै उनीमाथि नै महाभियोग लगाइनुपर्ने बयान दिएको  अधिवक्ता सुरेन्द्र भण्डारीले  बताए ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा अवहेलना मुद्दामा बहस हुनेछ ।

केसीका पक्षमा भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने बताइएको छ  ।

त्यसैगरी केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने छन् ।  बहस भाेलि हुने बताइएकाे छ भने केसी अाज पनि  थुनामा नै रहनेछन् ।

के छ केसीको बयानमा ?
केसीले दिएको ११ बुँदे लिखित बयानमा प्रधानन्यायाधीसले २ ठाउँबाट नागरिकता लिएको दाबी गर्दै यस अपराधका लागि कारवाहीको माग गरेका छन् ।

त्यस्तै, उमेर सच्याएर २०७४ असारमै सेवानिवृत हुनुपर्ने केसीले उल्लेख गरेका छन् । बयानमा लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाई दिँदै उनको भानिजलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कानूनी सल्लाहकार बनाएर पद र ओहदाको दुरुपयोग गरेको उल्लेख छ ।

केसीले बयानमा पराजुलीको शैक्षिक प्रमाणपत्रको पनि छानविन हुनुपर्ने माग गरेका छन् । पराजुलीले एसएलसी पनि पास गरेको या नगरेको भन्नेमा विवाद रहेको बयानमा भनिएको छ ।

पराजुलीले चुडामणि शर्मा, गोपाल खड्का र एनसेल प्रकरणमा भ्रष्टाचारीलाई प्रसय दिएको पनि आरोप लगाउँदै उनको मेडिकल माफियासँग साँठगाँठ रहेको बयानमा बताइएको छ ।


रातोपाटीबाट

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया