“शहर कहिले सफा हुन्छ ?”

तुलसीपुर,२१ पुष
तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्ष निलो ड्रेस लगाएका विद्यार्थीहरुको हुलले पुरै भरिएका थिए । उनीहरुको ड्रेस देख्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उनीहरु नर्सिङ्गमा पढ्ने विद्यार्थीहरु हुन् । तुलसीपुरको फोहोर व्यवस्थापनका वारेमा उनीहरुले जनप्रतिनिधिहरु समक्ष खुलेर जिज्ञासा राखे । विद्यार्थीकै भिडबाट वर्षा केसीले कार्यवाहक नगरप्रमुख नवराज लामिछाने तर्फ इङ्गित गर्दै भनिन् “ वजारको फोहर कसरी व्यवस्थित गर्नुहुन्छ ?” उनले फेरि प्रश्न थपिन् “फोहर व्यवस्थापन गर्नका लागि के कस्ता समस्या छन् ?” कार्यवाहक नगर प्रमुख लामिछानेले उनको जवाफ दिदै भने “हामीले निश्चित ठाउँमा डम्पिङ्ग साइड निर्माण गरेर फोहरलाई व्यवस्थित गर्ने प्रयासमा छौ, फोहरबाट मोहर वनाउने नीति अनुरुप हामीले काम पनि अगाडि वढाइसकेका छौ ” केसीको दोश्रो प्रश्नको जवाफ पनि जोड्दै उनले भने “फोहर व्यवस्थापनका समस्या भन्नु नै जनचेतनाको अभाव हो , यसलाई अब सुधार गर्नु आवश्यक छ ” यसका साथै उनले जवाफ दिने वित्तिकै अर्की छात्रा सदिक्षा रेग्मीले प्रश्न गरिन् “ वजारमा फोहर उठाउने गाडी छ तर गाउँमा के गर्नुहुन्छ नि ?”
उनको प्रश्नको जवाफ दिदै तुलसीपुर उपमहानगरपालिका समाज कल्याण अधिकृत टोपवहादुर डाँगीले भने “अहिलेको समस्या भनेको विशेष गरेर वजार क्षेत्रमा मात्रै रहेको छ । गाउँ घरमा फोहर व्यवस्थापनका लागि व्यक्तिहरु आफैले पहल गरेका हुन्छन् , तर पनि हामीले खवर गरेको आधारमा गाउँमा पनि फोहोर उठाउनका लागि गाडी पठाउने गरेका छौ ” । रेग्मीले अर्का प्रश्न पनि थपिन् “ यो शहर कहिले सफा हुन्छ ?” लामिछानेले जवाफ दिए “ तुलसीपुरका हरेक नागरिकले यही प्रश्न आफ्नो मनमा लिएको लिन पुरै सफा हुन्छ । ”
तुलसीपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका वारेमा विद्यार्थीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । विद्यार्थीहरुकै विचवाट विद्यार्थी सलिना डाँगीले नगरलाई हराभरा राख्नका लागि नगरपालिकाले के गरिरहेको छ भन्ने प्रश्न अगाडि राखिन् । उनको प्रश्नको जवाफ दिदै कार्यवाहक नगरप्रमुख लामिछानेले तुलसीपुर उपमहानगरपालिकाले सरसफाई सम्वन्धि सचेतना दिनका लागि हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियान सञ्चालन गरिरहेको वताउँदै नगरलाई हराभरा राख्नका लागि ग्रिन वेल्ट निर्माणको योजना वनाएको समेत वताए ।
तुलसीपुरमा रहेको राप्ती लाइफ केयर नर्सिङ्ग कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समुदायका वारेमा जानकारी गराउनका लागि नियमित रुपमा विभिन्न कार्यक्रममा सहभागि गराँइदै आएको कलेजकी शिक्षिका मनिषा गिरीले वताईन् । उनले भनिन् “ नर्सिङ्ग पढ्नेहरुले समाजलाई वुझ्नु आवश्यक भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । ”

 

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया