तुलसीपुर उपमहानगरले वाँड्यो ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर,२४ पुस ।
तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । वडा नम्बर १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम सुरु गरेको हो । उपमहानगरपालिका वडा नम्बर १९की सबैभन्दा वृद्व एक सय तीन वर्षिया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको सुरु गरेका हुन् ।

उपमहानगरपालिकाबाट दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्ववृद्वाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । वडा नम्बर १९ भित्र रहेका १६ जना मध्ये ९ जनालाई आइतबार नै वितरण गरिएको छ । कार्यक्रममा टोपी, ब्लाङ्केट, ओड्ना एक एक थान वितरण गरिएको थियो । न्यानो कपडा पाउने ज्येष्ठ नागरिकहरुमा मणीभद्र खत्री, नरवीर बस्नेत, भद्रबहादुर घर्ती,वासुदेव उपाध्याय, रामजु चौधरी, बस्यौनी चौधरी र मोती वली रहेका छन् ।

कार्यक्रममा उनीहरुका स्वास्थ्य चेकजाच समेत गरिएको थियो । वडाध्यक्ष रामबहादुर योगीको अध्यक्षतामा तथा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मेयर पाण्डेले घरको छानो मुक्त कार्यक्रमका साथै सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र दिइने कार्यक्रमको समेत तत्कालै सुरु गरिने बताएका थिए । कार्यक्रमको सञ्चालन उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवश आचार्यले गरेका थिए ।
वडा नं. ४ र १८ मा पनि न्यानो कपडा वितरण
यसैविच तुल्सीपुर उपमहानगर पालिका वडा नं – १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । ८४ वर्ष पुगेका ५ जना वृद्ववृद्वाहरुलाई टोपी, ब्लाङ्केट, ओड्ना एक एक थान वितरण गरिएको छ । खिम कुमारी गौतम, इश्वरादेवि उपाध्याय, सन्त कुमारी कवर, पानकुमारी पुन र दुर्गा बस्नेतलाई वितरण गरिएको थियो । वडामा दलित र अन्य गरि २८ जना वृद्ववृद्वाहरुको रहकोमा आइतवार ५ जनालाई वितरण गरिएको वडाध्यक्ष माधब वलीले वताए । उक्त कार्यक्रममा ८० नाघेका दलित र अन्य ८४ नाघेकालाई स्वास्थ्य चेकजाँच पनि गरिएको वलीले वताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडा कार्यालयले आईतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा न्यानो कपडा वितरण गरीएको हो । वडाका ८० वर्ष उमेर पुगेका २० जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा प्रदान गरीएको हो । जाडो समयमा केहि राहत हुने भन्दै न्यानो कपडा गरीएको वडा अध्यक्ष रानाले बताए ।

न्यानो कपडा पाउने ज्येष्ठ नागरीकहरुले जाडोको समयमा आफुहरुलाई केही राहत हुने बताउदै आगामी दिनहरुमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव समेत दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य डिला परियार, वडा सदस्यहरु प्रेम बहादुर डाँगी, जय बहादुर गिरी, सहायक वडा सचिव सुधाकर पोख्रेल लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार
प्रतिक्रिया