जस्ले खुवाउछिन् : सुत्केरीलाई निःशुल्क खाना

 

बुद्धि पुन, पुस २३ सल्यान ।

सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरा कि निर्मला खत्रीले सुत्केरीलाई निशुल्क खाना खुवाउन थालेको ७ बर्ष भएको छ । साबिकको लेखपोखरा, पाखापानीमा २०६३ साल देखी होटल सञ्चालन गर्न शुरु गरेकी खत्रीको सुत्केरीहरुलाई निशुल्क खाना खुवाउन थालेको ७ बर्ष भएको हो । उनको होटल प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराको नजिकमा छ । उनले प्राथामिक स्वास्थ्य केन्द्रमा सुत्ेकरी हुन आउने जो कोही सुत्केरीलाई पनि निशुल्क खाना खुवाउने काम गर्दै आईरहेकी छिन् ।

आफुले २०६७ साल देखी स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने सबैलाई निशुल्क सुत्केरी खाना खुवाउन शुरु गरेको निर्मलाले बताईन् । उनले भनिन् –‘मैले समाजको लागी केही गर्न नसके पनि सुत्केरी हुन आउने हरेक आमालाई निशुल्क खाना खुवाउछु भन्ने सोचे, अनी त्यही अनुसार यहाँ आउने सबैलाई निशुल्क खाना खुवाउन थाले ।’ उनले सुत्केरीको लागी ज्वानो, मेथी लगाएतका बस्तु राखेर पकाएको खाना खुवाउने गरेको बताईन् ।

‘मैले सुत्केरी सँगै स्वास्थ्य केन्द्रमा आउने अशक्त, बृद्धबृद्धाहरुलाई पनि कहिले काही निशुल्क खाना खुवाउछु, कसैलाई पानी उमालेर खुवाउछु’– उनले भनिन् । निर्मलाले आफुले सुत्केरी तथा बृद्धबृद्धाहरुलाई सेवा गर्न पाउदा निकै खुसी लाग्ने गरेको बताईन् । उनलाई कुशल समाजसेवीको भन्दै केही बर्ष पहिले जिल्ला बिकास समितीले सम्मान समेत गरेको थियो । उनले जिबिसले गरेको सम्मानले आफुलाई झन् समाजको सेवामा लाग्न थप प्रेरणा मिलेको बताईन् ।

प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका ईन्चार्ज डाक्टर हेमराज शर्माले निर्मलाले गरेको कामको खुलेर प्रसंशा गरे । अहिले पनि निर्मलाले सुत्केरीहरुलाई सुत्केरी खाना खुवाई रहेको बताउदैँ उनले यसले सुत्केरी आमाको स्वास्थ्यमा राम्रो प्रभाब पार्ने बताए । साथै उनले समाजसेवी निर्मलालाई स्वास्थ्य केन्द्रको तर्फ बाट सम्मान गर्ने योजना गरेको पनि बताए ।

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार
प्रतिक्रिया