मतपरिणाम समयमै पेस गरौंः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीलाई संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार निर्वाचन परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्न सुझाव दिएकी छन्। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

शीतलनिवासमा बिहीबार आयोग पदाधिकारीसँगको भेटमा भण्डारीले जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पनि परिणाम चाँडो बुझाउनुपर्ने बताइन्। ‘जनादेशको सम्मान गर्दै नयाँ सरकारका लागि बोटो खोल्ने कार्यभन्दा सकारात्मक कदम अहिलेको राजनीतिक परिस्थितिका लागि अरू केही हुन सक्दैन’, उनले भनिन्।

राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त नभइसकेको अवस्थामा प्रदेशसभाको मतपरिणाम बुझाउने तथा शपथग्रहण गराउने सम्बन्धमा भएका संवैधानिक, कानुनी र व्यावहारिक पाटोबारे समेत जिज्ञासा राखेकी थिइन्। प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराएकोमा उनले आयोग पदाधिकारीलाई बधाईसमेत दिइन्।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य समानुपातिकतर्फको सिट बाँडफाँट गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई बन्दसूचीलाई समावेशी समूहअनुरूप सच्याएर ल्याउन दललाई बिहीबारसम्मको समय दिएको अवगत गराएका थिए।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार
प्रतिक्रिया