काठमाडौं । माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौतारिरहेकी छन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षिय श्रीमान् प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छिन्। कम्पनीलाई प्रेमले ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तानी गरेपछिमात्रै जेलवाट छुटने छन्। कान्तिपुरमा समाचार छ ।
पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन । उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ उनी भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने ?’
प्रेम सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रक्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए। विदाबाट फर्केको साढे दुई महिनापछि २०१६ मार्च ३१ मा तामाको तार लोड भएको गाडी चोरी राजधानी रियादको जनद्रियाबाट हरायो ।
सामान पुर्याउने कम्पनी वन्द भइसकेको थियो। सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्कंदा गाडी देखिन। नदेख्ने वित्तिकै कम्पनीका म्यानेजर र प्रहरीलाई खबर गरें’ प्रेमले अदालतसमक्ष वयानमा भनेका छन्, ‘म पूर्ण रुपमा निर्दोष छु।’
गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमी टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ। कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दावी गरी अदालतमा क्षतिपुर्ति दावी गरेको थियो।