कमल थापाले भेटे पूर्व राजा ज्ञानेन्द्र शाहलाई

तुलसीपुर,१५ पुस ।
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्नुभएको छ । नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहनुभएका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गर्नुभएको हो । आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष थापाले बताउनुभयो । पूर्व राजा दुईसाता लामो भ्रमणका लागि बिहीबारदेखि नेपालगञ्जमा रहनुभएको छ ।

पूर्व राजासँग भेटेपछि शनिबार नै नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पूर्व राजाको पश्चिम भ्रमण होटल उद्घाटन र धार्मिक मात्रै भएको र राजनीतिक उद्देश्य नभएको दावी गर्नुभयो ।

यसैबीच पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष थापाले नयाँ सरकार गठनका लागि अब वैधानिक राजनीतिक अवरोध नभएको बताउनुभयो । सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रदेश प्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ पुष १५ गते शनिवार
प्रतिक्रिया