घोराही, १३ पुस ।
घोराही उपमहानगरपालिकाले नगरको यातायात व्यवस्थापनलाई सुधार गर्ने कार्यको थालनी गरेको छ । जथाभावी गाडीहरु पार्किङ गर्दा आवतजावतमा असहजता, दुर्घटनाको जोखिम र सुन्दरतामा कुरुपता आएको भन्दै उपमहानगरले यातायात व्यवस्थापनमा सुधारको काम थालेको हो । बिहिबा। घोराही उपमहानगरपालिकाले सरोकारवाला निकायहरुलाई बोलाई शहरी यातायात व्यवस्थापनलाई सहज र सुरक्षित बनाउन बिभिन्न निर्णय गरेको हो ।
जस अनुसार घोराहीबाट लामो तथा छोटोदुरीमा चल्ने सबै बसहरु अनिबार्यरुपमा बसपार्कबाट छुट्नुपर्ने र पुग्नुपर्ने निर्णयमा यातायात व्यवसायीहरुले सहमति जनाएका छन् । त्यसैगरी सबै बसहरुमा अनिवार्यरुपमा फोहोर संकलन गर्ने भाडो राख्ने, सडकमा जथाभावी पार्किङ गर्ने गरिएका बसहरुलाई अनिवार्यरुपमा बसपार्कमा लैजाने, आरक्षण सिटमा तोकिएका बर्गलाई मात्रै बसाल्ने र यात्रु मैत्री व्यवहार गर्ने निर्णय भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले राप्ती उपक्षेत्रिय अस्पताल आसपसामा भाडामा प्रयोग गरिने रातो नम्बर प्लेटका गाडिहरुलाई पार्किङ गर्न नदिने निर्णय भएको छ ।
सबै निर्णयहरुलाई तीन दिन भित्र कार्यान्वयनमा ल्याउने र कसैले उलंघन तथा अबरोध गर्नेलाई ट्राफिक नियम अनुसार कार्वाही गर्ने निर्णय भएको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभएको छ । बैठकमा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, उपमहानगरका प्रशासन महाशाखा प्रमुख सुबोध रेग्मी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्ले, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेब साउद, राप्ती समितिका कार्यालय प्रमुख मानकुमार राना, पाण्डबेश्री यातायात प्रालीका अध्यक्ष सरोज शाह, कालिकामालिका प्रतिनिधी खुमबहादुर नेपाली, अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालीका विमल जैसी, सहारा यातायत प्रालीका गोपाल केसी, जलजला यातायातका केवल बाँठा मगर लगाएतका प्रतिनिधीहरुको सहभागितमा यातायात व्यवस्थापनका विषयमा निर्णय भएको हो ।
ठेला र फलफूल जफत
नगर क्षेत्रमा जथाभावी पार्किङ र सडकै मिचेर राखिएका सामाग्रिहरु उपमहानगरले जफत गरेको छ । हस्पिटल रोडमा जथाभावी राखेको ठेला र सडक मिचेर राखेका पसलका वोर्डहरु उपमहानगरका कर्मचारी, टोल बिकास संस्था र प्रहरीले जफत गरेको हो । पटक पटक सूचना आह्वान गर्दा पनि अटेरी गर्ने व्यवसायीहरुको समानहरु जफत गरेर कार्वाही प्रकृया थालिएको वडा नम्बर १५ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।