चितवन, ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ ।
चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो ।
निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन काँग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उहाँको भनाइ थियो । ‘‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ’’ प्रधानमन्त्रीले भन्नुभयो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि काँग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ र त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गर्नुभयो ।