घोराही बजारलाई व्यवस्थित गरीदै

घोराही,१० पुस ।

घोराही बजारमा रहेका ठेला, ढेब्ली तथा साना सवारीका साधनलाई व्यवस्थित गर्न थालिएको छ । घोराही उपमहागरपालिका वडा नम्बर १४ र १५ को बजार क्षेत्रमा अस्तव्यस्त रहेका सामग्रिको व्यवस्थापन गर्न थालिएको हो । आज वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी सहित वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले बजारमा जहाँतही राखिएका सामग्री हटाउन निर्देशन दिदै उचित स्थानमा गाडी पार्किङ गर्न आग्रह गरेको छ ।

ठेला, ढेब्ली, टेम्पो, हाते ट्याक्टरहरु जहाँतही राख्दा र पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको र बजार अस्तव्यस्त भएको भन्दै उचित व्यवस्थापनको पहल थालिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो । नियम अनुसार पसल सञ्चालन गर्न र अबरोध नहुने गरी ढेब्ली तथा साना गाडीहरुलाई राख्न अनुगमन टोलीले निर्देशन समेत दिएको छ ।

घोराही उपमहानगरपालिकाले बजार क्षेत्रका बिषेश खुल्ला ठाउँहरुको पहिचान गरि ठेला, ढेब्ली, अटोरिक्सा र हाते ट्याक्टरहरुलाई व्यवस्थित गर्ने तयारी गरेको छ । साथै सडक छेउमा हुदै आएका व्यापारहरुलाई समेत व्यवस्थित गर्ने गरी योजना बनाएको उपमहानगरले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ पुष १० गते सोमवार
प्रतिक्रिया