राजधानीका लागि दाङमा पूर्वाधार निरिक्षण, टोलीले दियो यस्तो जवाफ

घोराही, ७ पुस । प्रदेश नम्वर पाँचको प्रस्तावित राजधानी दाङमा आवस्यक पूर्वाधारको स्थलगत निरिक्षण गरिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुरेश प्रधानसहितको टोलीले विहिवार दाङका विभिन्न १५ वटा सरकारी तथा गैरसरकारी संस्थाका भवनहरुको निरिक्षण गरेको हो ।

पूर्वाधार निरिक्षण टोलीले नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानको शिक्षण भवन, जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालयको भवन निरिक्षण गरिएको छ । यसैगरी कृषि विकास बैक क्षेत्रीय कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयको निरिक्षण पनि गरिएको छ ।

टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने लमहीमा पनि रातोडाँडास्थित लमही नगरविकास समितिको भवन, नेपाल विद्युत प्राधिकरणको भवन, देउखुरी उवासंघ, भुजवि कार्यालय, नेत्रलाल स्मृति प्रतिष्ठान र थारुकल्याणकारिणिसभा भवनको निरिक्षण गरेको हो ।

प्रदेशको राजधानी घोषणा भए आवस्यक पर्ने प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रादेशिक मन्त्रालय, संसद भवन र उनीहरुकालागि आवस्यक पर्ने आवास क्षेत्रकालागि सम्भावित भौतिक संरचनाको निरीक्षण गरिएको टोलीले जनाएको छ ।

भौतिक संरचना निरिक्षणको क्रममा टोली प्रमुख एवं क्षेत्रीय प्रशासक सुरेन्द्र प्रधानले घोषणा हुने वित्तिकै आवस्यक संरचना स्थापना गर्न दाङ उपयुक्त देखिएको प्रारम्भिक प्रतिक्रिया दिनुभयो । उहाँले नेसंवि आयुर्वेद शिक्षण भवन नमूना भवनको रुपमा पाइएको भन्दै प्रादेशिक मन्त्रालय, प्रदेश सभा, प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय एकै ठाउँमा राख्न सकिने बताउनुभयो ।

प्रदेश सभा, मन्त्रालयलगायतका संरचना बेलझुण्डीमा र घोराही–लमहीका भवनहरुलाई निवास/आवासका निम्ति उपयुक्त रहेको पाइएको बताउनुभयो । प्रदेश प्रमुख, मुख्य मन्त्री र मन्त्रीहरु र मन्त्रालयका सचिवहरुकालागि जिल्लाका विभिन्न स्थानका सरकारी कार्यालयलाई आवासका रुपमा राख्न सकिने टोली प्रमुख प्रधानले जानकारी दिनुभयो । उहाँले विहिवार नै अनुगमनको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी समेत दिनुभयो ।

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार
प्रतिक्रिया