३३ बर्षदेखि सडकले धानेको धनबहादुरको जीवन

तुलसीपुर, २८ मंसीर
आउनुस हजुर सुन्तला, बदाम, के चाहियो सस्तोमा लैजानुस । अन्त भन्दा सस्तोमा छानी छानी लैजानुहोस । घरका लागि जे चाइयो त्यहीं । विहान मिरमिरे उज्याले भए देखि साँझ झीमीसे नभए सम्म तुलसीपुरको विपिचोकको पश्चिम तर्फ सडक छेउँमा धनबहादुर नेपालीले यसैगरी नै व्यापार गर्दै आउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका ८ नयाँ बस्ती निवासी ५८ बर्षका नेपालीले सीजन अनुसारका फलफुल र छिट्वा, डाला, स्याउँ, डोको, लिखाटो, सुबा, दाम्ला, पलाष्टिका डोरी बेच्न लागेको अहिले ३३ बर्ष पुगेछ । २०४१ सालमा नौ रुपैयाँबाट सुरु गरेको सडक व्यपार अहिले करिब चार लाख सम्म पुगेको छ ।
‘लेबर काम गर्न तुलसीपुर बजारमा आउँथे काम पाइन्न थियो, नेपालीले भन्नुभयो’– दिनभरी काम खोजेर नपाएपछि त्यतिकै घर जान्थे ।’ एक दिन दोघरे बस्ने गोर्खाल्नी बोइसंग भेट भयो, के गर्छस भनेर सोध्नुभयो,– उहाँले विगत सम्झीदै भन्नुभयो’ काम खोज्न लागेको धेरै दिनभयो भेटिदैन भोकै मर्ने त होला बोइ ।’
नेपालीको दुःखका कुरा सुनेपछि गोर्खालीनी बोइले दिएको नौ रुपैयाँका ४५ वटा बेलौती उधारा लगेर २०४१ भदौ १६ गतेबाट सडक व्यापार सुरु गरेका नेपालीका शुखका दिन सुरु हुन थाले ।
‘यीनी बेलौती बेच्न नसके यता मुख नदेखाएस भन्नुभयो, – नेपालीले भन्नुभयो– डोकोमा बोकेर बिरेन्द्र चोक नजिकै मसालाको ठूलो रुख मुनी बसेर फिजे एक घन्टामा एक रुप्पेको एउटाका दरले बेचे ।’
बेलौती बेचेर कमाएको ४५ रुपैयाँले गाउँबाट बेच्न ल्याएका तीन डोका बोडी(तरकारी) खरिद गरेर पुनः बिक्रि गरे ।
बोडी(तरकारी) विक्रि पश्चात पोलीथीनमा पैसा जम्मा गरेर लगेका नेपालीले आफुले पैसा गन्ती नगरेर गोर्खालीनी बोइलाई लगेर साँझ बुझाए ।
‘तेरा, पैसा बाह्र बिस(२४०) र दश रुपैया भएको छ, म मास्दीन्न भोली विहानै आएर फेरी तरकारी खरीद गरेर लगेर बेच्लास, गोर्खाल्नी बोईलाई उदृत गर्दै उनले भने ।’पहिलो दिन ढाई सय रुपैयाँ कमाउदाको खुशीले रातभरी नसुतेको बताउने नेपालीले पाँच बर्ष सम्म फलफुल र तरकारी व्यपार गरे । त्यसपछि उनले छिट्वा, डाला, स्याउँ, डोको, लिखाटो, सुबा, दाम्ला, पलाष्टिका डोरी बेच्न सुरु गरेका हुन् । सड व्यापारको कमाईले नेपालीले तुलसीपुर बजारमा ६ कोठाको पक्की घर हालेका छन् भने दुईवटा छोरालाई १२ कक्षा सम्म पढाउनुका साथै छोरीलाई १५ लाख खर्च गरेर नर्स पढाई सकेका छन् । कान्छो छोरो अहिले विदेशमा छन भने जेठो छोरालाई ‘ङ’ लाइनमा कोठा भाडामा लिएर करिब ४ लाखको मुढा, डोरी, दाम्ला, डोका बेच्ने पसल वनाईदिएर आफु जस्तै व्यवसायी बनाएका छन् ।
शंकर आचार्यको घरको पेटीमा व्यवसाय गर्दै आएका नेपाली आफनो पेशाबाट अहिले पनि सन्तुष्ट हुनुहुन्छ । महिनामा २० देखि २५ हजार रुपैयाँ सम्म बसीबसी मज्जाले कमाउने गरेको उहाँको भनाई छ । ‘लाज मानेर हुदैन चोरेर खानपो लाज हुन्छ, आफनो व्यपार व्यवसाय गर्न केको लाज ? – नेपालीले भन्नुभयो’ सडकमा बसेर व्यपार गर्न लाज मानेको भए मैले धेरै दुःख पाउने थिए ।’ विदेशमा गएर आफनो परिवार विचल्लीमा पार्नु भन्दा आफनै ठाउँमा सानो भएपनि आफनै व्यपार अथवा काम गरेर आफनै परिवारसंग रमाउन सके जीवनमा त्यो भन्दा खुशीको कुरा अरु नहुने नेपालीले बताए ।

 

 

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार
प्रतिक्रिया