घोराही, १ पुस
घोराही बजारमा रहेका मासु व्यवसायीहरुले आफैले गरेको सहमति उलंघन गरेर मासु बिक्रि गरिरहेका छन् । गएको असोज २४ गते घोराही उपमहानगरपालिकामा भएको छलफलमा मासु व्यवसायीहरुले डिफ्रिजमा राखेर मासु बिक्रि गर्ने सहमति गरेका थिए । असोज २८ गते देखी मासु पसल सबैले दर्ता गर्ने, सफा राख्ने, अकुंशमा नझुण्डाउने, डि फ्रिजमा राख्ने, जाली तथा सिसाको प्रयोग नगर्ने, मूल्य सूचि अनिबार्य राख्ने, खसी, बोका र बाख्राको मासु छुट्टा छुट्टै राख्ने लगाएतका बिषयमा व्यवसायीहरुले सहमति जनाएका थिए ।
तर उनिहरुले उक्त सहमतीलाई कार्यान्वयन भने नगरेको पाईएको छ । नगर प्रमुख नरुलाल चौधरी सहितको टोलीले आज बजार सरसफाईका क्रममा मासु पसलहरुको समेत निरिक्षण गरेको हो । व्यवसायीहरुले आफैले गरेका सहमतिलाई पालना नै नगरेको देखिएको र छिट्टै उनिहरुलाई छलफलका लागि बोलाउने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । अनुगमनकै क्रममा यस अघि पनि उनिहरुले अटेरी गरेको फेला परेपछि २४ किलो मासु जफत गरिएको थियो । मासु व्यवसायीहरुले अहिले पनि पशुहरुको स्वास्थ्य जाँच बिनै बध गर्ने, खुलारुपमा खिया लागेका अंकुशमा झुण्ड्याएर बेच्ने, फ्रिजको प्रयोग नगर्ने र सरसफाईमा ध्यान नदिएको पाईएको छ ।।