सिलवाललाई आइजीपी प्रकाशले भन्नेछन “सलाम, जय नेपाल हजुर”

मंसिर–

नवराज सिलवाल नेपाल प्रहरीको महानिरीक्षक बन्न नपाएपछि डिआईजीबाटै राजीनामा दिएर उर्जाशील समय बिताएको संगठनबाट बिदा भए । प्रहरी छाडेको केही समयपछि नै सिलवाल केपी ओलीका हातबाट टीका लगाएर एमाले प्रवेश गरे । उनलाई प्रहरी महानिरीक्षक नबनाउन तत्कालिन सरकारले गरेका वैध/अवैध सबै हर्कतको एमालेले सडकदेखि सदनसम्म विरोध गरेको थियो । दुःखका बेला आफ्नो पक्षमा बोलिदिएकामा सिलवाल एमालेप्रति पदमै छँदा नरम बन्दै गएका थिए ।

अन्ततः राज्यले अन्याय गरेको महसुस गरेर सिलवाल एमालेमा पसे । ‘आफूमाथि राजीनीति भएकाले बाध्य भएर राजनीतिमा हाम्फाल्नुपरेको’ अभिव्यक्ति दिँदै आएका सिलवाल बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा ललितपुर–१ बाट चुनावी मैदानमा होमिए । नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका हुन् ।

सिलवाल २६ हजार ९ सय ५१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरे । नेपाल प्रहरीको महानिरीक्षकमा दाबेदारमध्ये पहिलो नम्बरमा रहेका सिलवाललाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए । देउवाको दबाबमा सरकारले तेश्रो वरियताका प्रकाश अर्याललाई महानिरीक्षक नियुक्त गरेपछि सिलवाल अदालत पुगेका थिए । अदालतमा देउवाको ‘चलखेल’ मा आफूलाई अन्यायमा पारएिको भन्दै सिलवाल सक्रिय राजनीतिमा होमिएका थिए ।

प्रकाश अर्याल र उनीसँगै बढुवाको दौडमा रहेका जयबहादुर चन्द एआईजीका हैसियतमा प्रहरी संगठनमै रहेका बेला सिलवाल भने ‘छलाङ’ मार्दै माननीय भएका छन् । एमाले अध्यक्ष केपी ओलीले चुनावपछि आफू प्रधानमन्त्री र सिलवाल गृहराज्यमन्त्री बन्ने बताइसकेका छन् । सिलवाल मन्त्री भए वा भएनन् भने पनि अब जहाँ भेटे पनि प्रहरी महानिरीक्षक अर्याल र चन्दले तन्किएर ‘जय नेपाल हजुर’ भन्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया