छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

तुलसीपुर,११ मंसीर ।
कपिलबस्तु, चितवन र धादिङमा गएराती र आज बिहान भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान भएको दुर्घटनामा ३० वर्षका जिaतेन्द्र अधिकारी र भुवन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ८९ प ७२७ नम्बरको मोटरसाइकल सल्यानटारबाट आरुघाट जाँदै गर्दा अनियन्त्रित भई भिरबाट लडेर खसेको थियो । त्यस्तै चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौं हिडेको ना ५ ख २५६६ नम्बरको ट्रकले आइतबार राति पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका अन्दाजी ५० बर्षका पुरुषको पहिचान भने नखुलेको प्रहरीले जानकारी दिएको छ । कपिलवस्तुमा पनि ट्रकले ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना २ ख ९९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया