तुलसीपुर उपमहानगरपालिकाले वजारमा सिसी क्यामेरा राख्दै

तुलसीपुर , ३ मंसिर ।

प्रदेश नम्वर ५ का प्रहरी प्रमुख मिङमार लामाले सहरको सुरक्षाका निम्ति सिसी क्यामेरा अनिवार्य भएको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ट्राफिक व्यवस्थापन र सुरक्षा अवस्था सम्वन्धि सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन हुन नसक्दा सहरको सुन्दरता हराउँदै गएको वताएका थिए ।

“रोडमा पार्किङ गर्ने कुरालाई निरुत्साहित गर्नुपर्दछ” उनले पार्किङ एरिया वनाएर मुख्य क्षेत्रमा महँगो र अन्य क्षेत्रमा कम पार्किङ शुल्क राखेमा मुख्य सडकमा हुने सवारी पार्किङको चाप कम हुने समेत वताए । काठमाडौमा नो हर्न अभियानको सुरुवात गरेका लामाले एकतर्फि बाटोमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापन सजिलो हुने समेत वताए ।

तुलसीपुरको सुरक्षा अवस्था वलियो हुँदै गएको वताउँदै उनले सिसी क्यामेराको जडानले झनै नगरलाई सुरक्षित वनाउने वताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्नका लागि उपमहानगरले पहल कदमी लिने वताएका थिए । वजार व्यवस्थापन कार्यविधि वनाएर तुलसीपुरमा रहेका फुटपाथ पसल, अव्यवस्थित ठेला लगायतका समस्या समाधान गर्नका लागि उपमहानगरपालिकाले पहल सुरु गरेको जानकारी दिएका थिए ।

नगरप्रमुख पाण्डेले गलत ठाउँमा पार्किङ गर्नेलाई अनुहार नहेरेर कारवाही गर्न पनि आग्रह गरेका थिए । तुलसीपुरमा रहेको पार्किङको समस्या तत्काल समाधान गर्नका लागि आफुले पहल कदमी दिने समेत उनले वताए । उनले भने “हामी तत्काल समस्या समाधान गर्छाै , सम्वन्धित पक्षले सहकार्यका लागि तत्परता देखाउनु पर्यो ” तुलसीपुर वजारभरि अप्टिकल विछ्याएर हरेक संवेदनशिल ठाउँमा सिसी क्यामेराको व्यवस्था हुने गरेर उपमहानगरपालिकाले योजना वनाइसकेको समेत उहाँले वताउनु भयो ।

सो अवसरमा तुलसीपुरका विभिन्न ५० ठाउँमा सिसी क्यामेरा राख्नका लागि कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । उत्तरमा खानेपानी,दक्षिणमा गुम्राहा चोक, पुर्वमा विद्युत र पश्चिममा पातुखोला पुलसम्मका लागि पेस गरिएको प्रस्तावनामा करिव ५० लाखसम्म लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा वोल्दै राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले उपमहानगरपालिकाले तत्काल नगरप्रहरीको व्यवस्था गर्नका लागि पहल गर्नुपर्ने वताएका थिए । उनले सामान अनुसार विशेष वजारको व्यवस्था गर्नुपर्ने वताउँदै उपमहानगरले फुटपाथ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने वताएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले विगतमा सिसी क्यामेरा राखेपनि व्यवस्थापन हुन नसेकेको वताउँदै दीर्घकालिन सोचका साथमा काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले सिसी क्यामेरालाई अन्य क्षेत्रमा पनि व्यवस्थापन गर्नुपर्ने वताएका थिए भने वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र शाहले तुलसीपुरको सुरक्षाका लागि सवै लाग्नुपर्ने वताए ।

कार्यक्रममा इन्भेष्टमेन्ट वैकका अशोक पाण्डे, वडा नम्वर ९ का वडा सदस्य डम्वर वली ,सुनचाँदी व्यवसायी समितिका उपाध्यक्ष शंकर विश्वकर्मा, तुलसीपुर ट्राफिक कार्यालय तुलसीपुरका लक्ष्मण वहादुर ऐर लगायतले सुझाव दिएका थिए । कार्यक्रममा उपमहानगरका वित्तिय अधिकृत ललितवहादुर घर्तिले वजार व्यवस्थापन कार्यविधिमा भएका व्यवस्थाहरु प्रस्तुत गरेका थिए ।
पार्किङ स्थल छनोट समिति 
यसैगरि तुलसीपुरमा पार्किङ स्थल छनोट गर्नका लागि वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र शाहको संयोजकत्वमा समिति वनाइएको छ । समितिका सह संयोजकमा वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने,ट्राफिक र यातायातबाट १ /१ जन सदस्य र ललित घर्ति सदस्य सचिव रहने गरि ५ सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया