बृद्धबृद्धाहरुलाई कम्बल र खानेकुरा

दाङ, कार्तिक २९ ।
ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङले भर्खरै मात्र स्थापना भएको तुलसीपुर उप महानगरपालिका वडा नम्बर १२ मा अवस्थित बृद्ध सेवा समितिमा पुगेर ५ जना बृद्धहरुलाई कम्बल, फलफुल तथा खानेकुराहरु बितरण गरेको छ । कार्यक्रममा अध्यक्ष पवन घिमिरेले स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम र शिक्षकहरुबाट केही रकम जुटाएर बृद्धहरुलाई सहयोग गर्न संभब भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीले ईन्ट्रयाक्ट क्लबमा आवद्द बालबालिकाहरुको समाजसेवा प्रतिको भावना देखेर आफू अत्यन्त हर्षित भएको बताउनु भयो । उहाँले बुढापाका भनेका जिउदा ईतिहास भएकाले त्यस्ता वेसाहाराहरुलाई आश्रय दिने परिकल्पनालाई मुर्त रुप दिन ७ वर्षको अथक प्रयास पछि अहिले सम्भव भएको बताउनु भयो साथै यो समितिको सम्पूर्ण पुर्वाधार सम्पन्न गर्नको लागि कृयाशिल संघ संस्था र नागरिकहरुलाई सहयोगी हात बढाउन अपिल पनि गर्नुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठले आफ्नो खाजा खर्च कटाएर ईन्ट्रयाक्ट क्लबमा आवद्द बालबालिकाहरुले बृद्ध आश्रममा आएर यस्तो सेवामुलक कार्य गर्नु समाजको लागि एउटा गतिलो उदाहरण भएको बताउनु भयो साथै अहिलेको आधुनिक जीवन शैलीमा आफ्ना बृद्ध बुवाआमालाई बोझ सम्झेर बृद्ध आश्रम पठाउने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित परिवारलाई सम्झाई बुझाई गर्न समितिले पनि भूमिका खेल्नु पर्ने र वास्तविक वेसहारालाई आश्रय दिनुपर्ने उहाँको धारणा थियो ।

ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङकी सचिव अपराजिता पार्धेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव ऋषीकेश उपाध्यायले गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष बिजय केसी, धर्मेन्द्र वैश्य, बृद्ध सेवा समितिका कोषाध्यक्ष झग्गु प्रशाद गौतम र गोरखा स्कुलका शिक्षक अनुप गुप्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते बुधवार
प्रतिक्रिया