काठमाडौं– नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गरी फरार रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गौचनको साउन २३ गते राजधानीको वानेश्वरस्थित प्रयोग चोकमा गोली हानि हत्या भएको थियो ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्याका २१ वर्षीय राजिव स्याङ्ताङ , पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो, भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्साको ठोरीका सन्तोष गुरुङ र काठमाडौंको नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन् । यीमध्ये २१ वर्षीय स्याङ्तान सुटर भएको प्रहरीले जनाएको छ । यस्तै महतो र गुरूङले मोटरसाइकलको व्यवस्था गरेका थिए ।
यसैगरी मुकेश कुमार पाण्डेले हतियारको व्यवस्थापन गरेका थिए भने प्रकाश बुढाथोकीले घटनामा सहयोगीको भूमिका खेलेको नेपाल पुलिस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरीले घटनामा संललग्नता भएका भनिएका अरु ८ जनाको नाम पनि सार्वजनिक गरेको छ । जसमा समिरमान सिंह बस्नेत , मनोज पुन, लोप्साङ , बोका भन्ने गंगा लिङ्देन (लिम्बु) श्याम बहादुर गुम्बे,काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् । प्रहरीका अनुसार बस्नेत घटनाको योजनाकार हुन् । आर्थिक लेनदेनमा कुरा नमिल्दा उनकै निर्देशनमा घटना घटाइएको प्रहरीको भनाई छ ।
मनोज पुन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मुछिएका थिए । हाल फरार रहेका उनी भारतमा लुकेर बस्दै आएको प्रहरी बताउँछ ।
यस्तै लोप्साङले पनि गौचनको हत्यालगत्तै सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले घटना घटेको दाबी गरेका थिए । फरार रहेकाहरुको खोजीकार्य जारी रहेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने प्रहरीले दाबी गरेको छ ।
गौचन हत्यासम्बन्धी छानबिन गर्न गठित समितिका संयोजक डिआईजी गणेश केसीका अनुसार अभियुक्तहरुले एक महिना अगाडी देखि शरद कुमार गौचनलाई निग्रानीमा राखेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुले घटनामा प्रयोग गरेको साइन मोटरसाइकल भारतबाट चोरी गरी ल्याई नेपाली नम्बर प्लेट बा ३५ प २४६१ राखी प्रयोग गरेको पाइएको छ । शिवजी महतोले भारतको वेतियाबाट१८ हजारमा साइन मोटरसाइकल खरिद गरी२४ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको पाइएको केसीले जानकारी दिए । रातोपाटीबाट