नेपालमा सर्पदंशको औषधि उत्पादन हुदै

काठमाण्डौ,२० कार्तिक ।
नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

करिब ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले जानकारी दिनुभयो । वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ ।

कम्पनी स्थापनाबाट ४ सयले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक एक अर्ब बराबरको विदेशबाट नेपाली मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।

हाल सरकारले वार्षिक ३० हजार भायल (करिब रु चार करोड बराबरको) सर्पदंश औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २० गते सोमवार
प्रतिक्रिया