मृगौला पीडित छोराको जीवन बचाइदिन अपिल

दाङ, १८ कार्तिक ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ भिमसेन टोल निवासी हेमलाल खनालले मृगौला पीडित आफ्नो २३ वर्षिय छोरा अरुण खनालको जीवन बचाइदिन अपिल गरेका छन् । आज शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी विगत करीव पाँच महिनादेखि छोरा अरुणको दुबै मृगौलाले काम गर्न छोडेको र उपचारका लागि आफ्नो पारिवारिक आर्थिक अवस्था कम्जोर भएकाले सहयोग गरिदिन यहाँका उद्योग व्यापारी, संघसंस्था, सरकारी कार्यालय, शिक्षा प्रेमी, नागरिक समाज, पत्रकार सबैलाई अनुरोध गरेका हु्न् ।

छोरा अरुणको तीन महिनादेखि काठमाडौंको मानव अंग प्रत्यारोपन केन्द्रमा साताको दुई पटक डाइलोसिसमा रहेको बुबा हेमलालले बताए । डाइलोसिसमा मात्रै महिनाको ५० हजारभन्दा वढी खर्च हुने गरेको र डक्टरहरुले नयाँ मृगौला प्रत्यारोपनको विकल्प नभएको सल्लाह दिएको उनले बताए ।

आर्थिक रुपमा परिवार कम्जोर रहेको र मृगौला प्रत्यारोपन गर्न लाग्ने ठूलो रकम आवश्यक पर्ने भएकाले सो रकम जुटन सके छोराको जीवन वच्ने आशा आफूहरु रहेको हेमलालले बताए । सहयोग गर्न चाहानुहुनेहरुले पीडित अरुण खनालकै नाममा रहेको माछापुछ्रे बैंक शाखा भक्तपुरमा रकम जम्मा गर्नु सक्नुहुने छ भने फोनमार्फत सहयोग गर्नु चाहानेले ०८२–५६२०८७ अथवा मोवाईल नम्बर ९८६८३९७५३३ मा सम्पर्क गर्न सकिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार
प्रतिक्रिया