लोडसेडिङमुक्त हिउँद अभियानमा प्राधिकरण

शिव दुवाडी  / काठमाडौं

हिउँद (सुक्खा याम) मा लोडसेडिङ हुन नदिन भारतबाट थप विद्युत् ल्याइने भएको छ । विद्युत् खरिद प्रक्रिया अघि बढाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली शुक्रबार भारत गएको छ ।

जसरी पनि लोडसेडिङ हटाएरै छाड्ने प्रतिबद्धता जनाएका घिसिङ अहिलेकै अवस्थामा हिउँदमा लोडसेडिङ हुन सक्ने देखिएपछि त्यसको विकल्पका लागि भारतीय पक्षसँग छलफल गर्न गएका हुन् ।

उनले यसअघि लिड बल्बको विकल्प अघि सारे पनि त्यो प्रक्रियाले मूर्त रूप प्राप्त गर्न नसकी स्थगित भएपछि थप विद्युत् आयातको विकल्प नभएको हो । आयातको विकल्प खोज्ने क्रममा घिसिङले भातीय पक्षसँग प्रारम्भिक कुराकानी गर्नेछन् ।

चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर–मुजफ्फपुर सबस्टेसनबाट थप विद्युत् आयात हुन नसक्ने भएपछि प्राधिकरणले टनकपुर मार्गलाई वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न लागेको छ । यसअघि ढल्केबर–मुजफ्फपुर आयोजनाको सबस्टेसनबाट थप विद्युत् ल्याउने तय भएको थियो । यसको निर्माणको ठेक्का सम्झौता तोडिएसँगै सुक्खा यामका लागि योजनामा राखिएको विद्युत् घट्ने पक्का भएको थियो ।

‘यसअघि भारतबाट आयात गरिएको विद्युत्ले नपुग्ने भएपछि थप विद्युत् ल्याउने प्रक्रियामा प्राधिकरण लागेको छ,’ घिसिङले भने, ‘यसका लागि आवश्यक छलफलका लागि भारत जाँदै छु ।’ भारतीय पक्षसँगको छलफलपछि उचित विकल्पमा जाने उनको भनाइ छ ।

सुक्खा याममा विद्युत् आपूर्तिमा समस्या आउने देखेर घिसिङले यसअघि एलईडी बल्ब खरिद गरी नेपाली बजारमा बाँड्ने प्रक्रिया अघि बढाएका थिए । उक्त प्रक्रिया विवादमा परेपछि स्थागित गरिएको छ ।

भारतबाट थप सय मेगावाट विद्युत् खरिद प्रक्रिया सुरु

लोडसेडिङ अन्त्य गर्ने अभियानमा देखिएको यो विवादका कारण सुक्खा याममा प्राधिकरणको ‘नो लोडसेडिङ’ योजना चुनौतीमा परेको प्रवक्ता प्रबल अधिकारीले बताए । यस वर्षको सुक्खा याममा भारतबाट थप बिजुली आयात गरेर भए पनि लोडसेडिङ हुन नदिने महाअभियानमा लागेको प्रवक्ता अधिकारीले बताए । यसका लागि घिसिङसँगै प्रवक्ता अधिकारी पनि भारत गएका छन् ।

प्राधिकरणको कार्यतालिकाअनुसार यसै महिना ढल्केबर सबस्टेसनको काम सम्पन्न हुने थियो । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलाई २ सय २० केभीमा चार्ज गरेर सोही प्रसारण लाइनमार्फत २ सय मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण तालिकामा धक्का लागेपछि भारतसँग थप विद्युत् माग्नुपरेको हो ।

प्राधिकरणका अनुसार टनकपुर नाकाबाट थप ४० मेगावाट विद्युत् आयातको विषयमा नयाँ दिल्लीमा रहँदा छलफल हुने कार्यसूची छ । प्राधिकरणले टनकपुरमा १ सय एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

टनकपुरमा रहेको प्राधिकरणको सबस्टेसनको स्तरोन्नति गरेर ८० मेगावाट विद्युत् आयात गर्ने सोचमा प्राधिकरण छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त समितिको बैठकले समेत सो स्थानबाट विद्युत् आयात गर्न सैद्धान्तिक सहमति दिएको प्राधिकरणले जनाएको छ ।

ढल्केबर मुजफ्फपुर प्रसारण लाइनको सबस्टेसन निर्माणको ठेक्का सम्झौता तोडिए पनि प्राधिकरणले वार्षिक १ अर्ब रकम प्रसारण शुल्कबापत तिर्नुपर्नेछ । हाल सो प्रसारण लाइनबाट १ सय ४५ मेगावाट विद्युत् आयात भइरहेको छ । प्राधिकरणले यसअघि सो लाइनको सबस्टेसन निर्माण भएपछि भारतबाट आयात हुने थप विद्युत् सो मार्गबाट ल्याउने योजना थियो । गत २५ साउनमा भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले समेत थप सय मेगावाट विद्युत् ल्याउने सहमति गरेको थियो । यसका लागि रक्सौल– परवानीपुर र कुशाहा कटैया गरी दुई छुट्टाछुट्टै अन्तरदेशीय प्रसारण लाइन प्रयोगमा ल्याइने निर्णय भएको थियो । प्राधिकरणका अनुसार हाल भारतबाट ४ सय मेगावाटभन्दा बढी विद्युत् आयात भइरहेको छ । पछिल्लो प्रयास सफल भए अब भारतबाट नेपालमा झन्डै ५ सय मेगावाट विद्युत् आयात हुनेछ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रकाशित मिति : २०७४ कार्तिक ११ गते शनिवार
प्रतिक्रिया