घोराही,१ कार्तिक ।
घोराही उपमहानगरपालिकाले बुधबार एक सय दिनको कार्य प्रगती सार्वजनिक गरेको छ । नगर प्रमुख नरुलाल चौधरीले उपमहानगरमा जनप्रतिनिधीहरु निर्वाचित भएपछि एक सय दिनमा गरेका कामहरुको बारेमा प्रगती बिबरण सार्वजनिक गरेका हुन् । उपमहागरपालिकाले सेवा प्रबाह, वाताबरण, सरसफाई तथा फोहरमैला व्यवस्थापन, स्वास्थ्य, पूर्वाधार बिकास, विपत व्यवस्थापन, बजार अनुगमन तथा व्यवस्थापन र महिला, वालबालिका तथा खेलकुद क्षेत्रमा गरेका ४७ वटा बुँदामा कार्य प्रगति सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख चौधरीले पारित निती तथा कार्यक्रमको कार्यान्वयन चरणमै रहेको र केही कामको नतिजा समेत देखिएको उल्लेख गरे । गल्ने र नगल्ने फोहरहरुको उचित व्यवस्थापन सँगै सौर्य उर्जा उत्पादनका लागि प्रकृया सुरु गरिएको, तुलसीपुर चोक आसपासका सडक व्यापारलाई स्थानान्तरण गरिएको, बजारको नियमित अनुगमन, मासु पसलमा सुधार, जेष्ठ नागरिकहरुको घरमै उपचारको कामलाई प्रमुख उपलब्धीकारुपमा लिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।
यसैगरी स्मार्ट सिटीको निति पारित सँगै छलफल, औद्योगिक क्षेत्र घोषणा, हात्तीखर्क क्षेत्रमा ५ हजार कागती रोपण, ५ विगाहमा अर्गानिक तरकारी खेतीको सुरुवात, सबै वडाहरुमा यातायात सञ्चालन, जेष्ठ नागरिकहरुलाई सम्मान, विपदमा परेकालाई तत्काल आर्थिक र खाद्यान्न सहयोगका कामहरु भएको नगर प्रमुख चौधरीले उल्लेख गरे ।
साथै उपमहानगरको न्यायीक समितिले कार्य सुचारु गरि अहिले सम्म दर्ता भएका २५ मुद्धाहरु मध्य ९ वटा मुद्धा फैसला र सिफारीस भएको, तुलसीपुर चोकमा वाईफाई सेवा सुचारु गरिएको, बालमन्दीर, तुलसीपुर चोक र विपि चोक नजिकै सार्वजनिक शौचालय निर्माणको प्रकृया सुरु गरिएको पनि उपमहानगरले जनाएको छ ।
कार्यक्रममा बोल्ने पत्रकार तथा अन्य क्षेत्रका व्यक्तिहरुले समय सापेक्ष र आबस्यकता अनुसारको परिबर्तनमा ध्यान दिन सुझाब दिएका छन् । उपमहानगरका उपप्रमुख सीता न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यकारी अधिकृत ऋषिराम केसीले गरेका थिए ।