म्यादी प्रहरीमा जागिर खुल्यो

२४ असोज, काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले मंगलबार (आजै) बाट दरखास्त दिन सक्ने छन् । दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको छ । काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । प्रधान कार्यालयले दरखास्तकाे म्याद असोज ३० गतेसम्मका लागि दिएकाे छ ।

म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ ।१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

म्यादी प्रहरीले नेपाल प्रहरीकाे जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।

प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार
प्रतिक्रिया