सल्यानका पाँच स्थानका टेलिसेन्टर बन्द हुने अवस्थामा

शंकर केसी, सल्यान २४ असोज ।
सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका पाँच स्थानका टेलिसेन्टर पनि बन्द हुने अवस्थामा पुगेका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोग बिहिन भएपछि बिग्रीएर टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका हुन् ।

कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् । थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि पाँच स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ ।

पछिल्लो समय फोटोकपी, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले सेवाग्राहिहरु टेलिसेन्टर सम्म नआउने गरेको जिल्ला हुलाक अधिकृत धीरेन्द्र भण्डारीले बताउनुभयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहिन बन्दै गएको हो ।

प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार
प्रतिक्रिया