गाउँको विकासमा ध्यान दिनेछु मेयर पाण्डे

तुलसीपुर, २१ असोज
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले ग्रामिण क्षेत्रको विकासका लागि विशेष ध्यान दिने वताएका छन् । तुलसीपुर उपमहानगरपालिका ३ को विकट गाउँ धामाका जनतासँगको भेटघाटका क्रममा उनले सो कुरा वताएका हुन् । “ गाउँमा धेरै सम्भावना रहेको छ , अव हामीले त्यसलाई पहिल्याउन सक्नुपर्छ ” । हरेक महिना विकट वडामा जाने कार्यक्रम अन्तर्गत मेयर पाण्डे धामा गाउँ गएका थिए । त्यहाँका स्थानीयहरुले वाटो, पानी, रोजगारीको माग गरेका थिए । उनीहरुले पर्यटकीय सम्भावना वोकेको नरसिंह भैरव गुफाको विकासका लागि पहल गरिदिन समेत मेयर पाण्डेलाई आग्रह गरेका थिए ।
उपमहानगरपालिका भित्र रहेर पनि विकासबाट पछाडि परेको धामा गाउँलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न पहल गर्ने समेत मेयर पाण्डेले वताएका थिए । “अभाव छ भनेर हामीले आफ्नो ठाउँलाई धिक्कार्ने भन्दा पनि सम्भावना खोज्नमा ध्यान दिनुपर्दछ ” मेयर पाण्डेले वताए ।
मेयर पाण्डे गाउँमा आउने भएपछि स्थानीय जनताहरुले उनलाई स्वागत पनि गरेका थिए । “ हाम्रा समस्याहरुलाई चासो दिनुहोला ” स्थानीय लालवहादुर पुनले वताए । सो अवसरमा वडा नम्वर ३ का अध्यक्ष विजय विकको समेत संलग्नता रहेको मेयरका प्रेस संयोजक वसन्त विवश आचार्यले वताएका छन् ।

प्रकाशित मिति : २०७४ असोज २१ गते शनिवार
प्रतिक्रिया