दशैंमा टीका लगाउने साइत ११ बजेर ५५ मिनेटमा

काठमाण्डौं,१३ असोज । यस वर्षको बडादशैंको साइत ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यही असोज १४ गते भोली शनिवार विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।

राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीकाग्रहण गर्नुपर्छ, सर्वसाधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गादेवीका प्रसादकारुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’– समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले भने ।

विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजयादशमीकै दिन खड्गयात्रासमेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । नेपाल राज्यभर दसैं महान् पर्वकारुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक–आपसमा जम्मा भइ दसैं मनाउने गर्छन् ।

प्रकाशित मिति : २०७४ असोज १३ गते शुक्रवार
प्रतिक्रिया