सल्यानमा मदिरा बेचबिखन तथा सेवनमा रोक

मिना बुढाथोकी, सल्यान ७ असोज । जिल्ला प्रशासन कार्यालय सल्यानले मदिरा र मदिराजन्य पद्धार्थको बेचबिखन तथा सेवनमा रोक लगाएको छ । हिन्दु नेपालीहरुको महानपर्वलाई लक्षित गर्दै बेचबिखन तथा सेवनमा रोक लगाएको हो । एक सन्देश जारी गर्दै प्रशासनले बडादशैँ र तिहारको अबधि भर रातको समयमा बेलुका ८ बजे पश्चात मदिरा र मदिराजन्य पद्धार्थको बेचबिखन तथा सेवनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

जारी गरिएको सन्देशमा भनिएको छ,– ‘मदिरा र मदिराजन्य पद्धार्थको सेवनले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र मानव जिवनको आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने भएकाले समाजमा आपराधिक गतिबिधि तथा सामाजिक बिकृति न्यूनिकरण गर्न र समग्र शान्ती सुरक्षा कायम गर्न मदिरा र मदिराजन्य पद्धार्थको बेचबिखन तथा सेवनमा रोक लगाईएको हो ।’

साथै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सन्देशको बेवास्ता गरी मदिरा र मदिराजन्य पद्धार्थको बेचबिखन तथा सेवन गर्ने गराउने गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिईएको छ ।

 

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार
प्रतिक्रिया