तुलसीपुर उपमहानगरपालिकाद्धारा सुत्केरीलाई भत्ता दिन सुरु

ओपेन्द्र बस्नेत
तुलसीपुर दाङ , १ असोज । तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलो पटक सुत्केरीलाई भत्ता दिन सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेपछि रकम वितरण गरेको हो । पहिलो चरणमा पाँच हजारका दरले आइतबार २८ जना सुत्केरीले भत्ता पाएका छन् । दुई महिनाको बच्चा काखमा च्यापेर आएकी तुलसीपुर ४ निबासी दुर्गा नेपालीले पाँच हजार पाउँदा ज्यादै खुशी लागेको बताईन । ‘अस्पतालमा बच्चा जन्माएपछि नौ सय हो कि एक हजार कति दिन्छ भन्ने सुनेको थिए, नेपालीले भनिन’ नगरपालिकाले बोलाएर पाँच हजार दिदा अच्चम लागेको छ ।’
आर्थिक समस्या भएकालाई यसले ठूलो सहयोग पु¥याउने भन्दै नेपालीले प्राप्त रकमलाई पोषीलो खाने कुरामा सदुपयोग गर्ने बताइन् । ‘पोषीलो खानेकुरा खानुहोला, बच्चा र तपाईको स्वास्थ्य ख्याल राख्नु होला भनेर मेयरले भन्नुभयो ’ नेपालीले भनिन् ।
यता नगर प्रमख घनश्याम पाण्डेले कार्यकाल समहालेको एक सय दिन पुरा नहुँदै सुत्केरीलाई भत्ता वितरण गर्न पाउँदा आफुलाई ज्यादै खुशिलागेकोे बताए । निर्वाचनको समयमा पाण्डेले आफुले जितेमा एक सय दिनभित्र आर्थिक बर्ष २०७४ को साउन महिना देखि पाँच हजार सुत्केरी भत्ता दिने घोषणा गरेका थिए ।
आमाको कोख देखि जन्मेको दुई बर्षसम्म शारिरीक र दिमागको विकास हुने महत्वपूर्ण समय भएकाले आमा र बच्चालाई पोषीलो खानेकुराका लागि प्रोत्साहन स्वरुप भत्ता प्रदान गरिएको नगर प्रमुख पाण्डेले बताए । ७ सय ५३ वटा स्थानीय तहमध्य सुत्केरी भत्ता वितरण गर्ने आफु पहिलो भएको उनले दाबी गरे ।
वडामा अहिले अनलाईन प्रविधिमा जन्मदर्ताको व्यवस्था नभएकाले उप महानगरपालिकाबाट वितरण गरेको भन्दै नगर प्रमुख पाण्डेले छिट्टै सुत्केरी भत्ता वितरण प्रकृयाईलाई वडामा लैजाने बताए ।
नियमित चारपटक गर्भ जाँच, जुकाको आंैषधी आइरण चक्की, खाएको, टि.टि खोप लगाएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका आमाले पाँच हजार सुत्केरी भत्ता प्राप्त गर्न सक्ने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य उप संयोजक विष्णु पोख्रेलले जानकारी दिए । गर्भजाँच नगराएको तर स्वास्थ्य संस्थामा सुत्केरी गराएकाले तीन हजार रुपैया मात्रै प्राप्त गर्न सक्छन् ।
स्वस्थ आमा, स्वस्थ परिवार, देशविकासको आधार भन्ने नारा अनुसार माृतशिशु मृत्युदर कम गर्न ५ हजार सुत्केरी भत्ताको वितरण प्रकृया अघि सारेको उपमहानगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ असोज १ गते आइतवार
प्रतिक्रिया