गुणस्तर तथा नापतौल विभागको टोली देउखुरीमा

 

सन्तोषकुमार गुप्ता, भालुवाङ १८ भदौ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोली शनिबार देउखुरी आएको छ । करिब एक हप्ता सम्म देउखुरीको विभिन्न ठाउँहरुमा बसी नापतौल नबिकरण तथा अनुगमनका लागि शिबिर सञ्चालन गर्न बिभागको टोली देउखुरी आएको हो । विभागको पहिलो दिन शनिबार देउखुरीको भालुवाङमा नापतौल समाग्री चेकजाँच तथा नबिकरण एवम् दर्ता गरेको छ ।

राप्ती उद्योग बाणिज्य संघ भालुवाङको कार्यक्षेत्र भित्रका उद्योगी व्यापारीहरुलाई घरदैलोमा सेवा दिन संघले दुई दिने शिबिर अन्र्तगत पहिलो दिन भालुवाङमा शिबिर सञ्चालन गरेको हो । शिबिरबाट नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जले एकैदिनमा भालुवाङबाट ४० हजार बढी राजश्व संकलन गरेको क्षेत्रिय कार्यालयका निरीक्षक शम्भु आचार्यले जानकारी दिनु भएको छ ।

संघले पनि शिबिर सञ्चालनबाट ४४ हजार ८ सय ५० रुपैयाँ संकलन गरेको छ । संघले घरदैलो मै सेवा दिएको भन्दै सेवा शुल्क, संघको सदस्यता नबिकरण, नयाँ फर्म दर्ता र सरसफाई शुल्क गरी उक्त रकम संकलन गरेको संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले जानकारी दिनु भएको छ । शिबिरमा संघमा आबद्ध ८० जना उद्योगी व्यापारीहरुले सेवा लिएका थिए ।

आईतबार लालमटियाको न्यू खड्का हार्डवेयर्समा बिहान १० बजे देखि साँझ ५ बजे सम्म नाप तौल शिबिर सञ्चालन गरिने संघले जनाएको छ । शिबिरमा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका निरीक्षक शम्भु आचार्य, सहायक निरीक्षक गुरुप्रसाद पोख्रेल, प्राविधिक सहायक सन्तराम चौधरी र रामसुरत चौधरी रहेका थिए ।

शिबिरमा संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, महासचिव सुरज खड्का, सदस्यहरु माधव भुसाल, बिक्रम पाण्डे, सन्तोषकुमार गुप्ता, गोमाया केसी, कार्यालय प्रमुख सन्तोषकुमार यागी र कार्यालय सहायक हेमन्त क्षेत्रीको बिशेष उपस्थीति रहेको छ ।

प्रकाशित मिति : २०७४ भाद्र १८ गते आइतवार
प्रतिक्रिया