युवा संघको प्रदेश भेला घोराहीमा, नेता पोख्रेल लगायतले सम्बोधन गर्ने

सन्तोष वली,तुलसीपुर १४ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेल दाङ आउँदै हुनुहुन्छ । युवा संघ नेपालको प्रदेश भेलालाई सम्बोधन गर्न पोख्रेल आज दाङ आउनु लाग्नुभएको हो । घोराहीस्थित भिंग्रेली भिलेजमा हुने प्रदेश भेलालाई सम्बोधन गर्न नेता पोख्रेलसँगै युवा संघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री महेश बस्नेत, वर्तमान अध्यक्ष राजिव पहारीलगायतका नेताहरु दाङ आइपुगेको संघले जनाएको छ ।

संघका पाँचनम्वर प्रदेश प्रमुख मनोहर बुढाथोकीले दाङलाई राजधानी बनाउन मार्ग प्रशस्त गर्ने उद्देश्यले दाङमा भेलाको आयोजना गरेको जानकारी दिनुभयो । प्रदेश र संघको निर्वाचनमा युवा परिचालन, संघको आगामी निर्वाचन सम्बन्धी विशेष निर्णय गर्नका लागि पनि भेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

युवाहरुलाई सिर्जनशील कार्यमा लगाउनमा युवा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रदेश प्रमुख बुढाथोकीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भ्रमणका क्रममा भएका राष्ट्रघाती सम्झौताको बिरोधमा भेलाले विशेष कार्यक्रम बनाउने बताउनुभयो । बिहान ११ वजे भिंग्रेली भिलेजमा हुने भेलामा सहभागी हुन प्रदेशभरका १ सय बढी युवाहरु दाङ आइपुगेको प्रदेश प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

यसैबीच कार्यक्रममा उपस्थित हुन युवा संघ नेपालले सबैमा अनुरोध गरेको छ । संघको पाँचनम्वर भेलाको खुल्ला सभामा उपस्थित हुन संघका प्रदेश प्रमुख मनोहर बुढाथोकीले सबैमा अनुरोध गर्नुभयो । बुढाथोकीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थित हुन एमालेका नेता, कार्यकर्ता, युवा संघका नेता कार्यकर्ता, पत्रकारलगायत सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र १४ गते बुधवार
प्रतिक्रिया