पुल नहुँदा एक गाउँबाट अर्कोगाउँ जान समस्या, नआत्तिनुहोस म काम गर्छु : मेयर पाण्डे

 

तुलसीपुर, २६ साउन । तुलसीपुर उप महानगरपालिका ३ स्थित रानागाउँका स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, विजुली र पुलको माग गरेका छन् । समदर्शी युवा क्लवले तुलसीपुर उप महानगरपालिका ३ लाहुरेचौरमा विहिबार आयोजना गरेको सामाजिक विकासमा हाम्रो दायित्व विषक अन्तरक्रिया कार्यक्रममा पुग्नुभएका तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुख घनश्याम पाण्डेसामु स्थानीयले यस्तो माग गरेका हुन् ।

‘वडा एउटै छ आउँदा २० मिनेट मात्रै लाग्छ तर पातुखोलामा बाढी आउँदा वडा अध्यक्ष आउन सक्नु भएन, ‘स्थानीय नरेश डाँगीले भन्नुभयो’ पुल नहुँदा एक गाउँबाट अर्को गाउँ जान समेत समस्या छ पुल बनाईदिनु प¥यो मेयरसाव ।’

त्यहाँका स्थानीयले रानागाउँ, डाँडाखुटी, राम्री, बल्ले, कल्ले, नाउँला, टुनापानी, अविधारा लगाएतका गाउँलाई पाइक पर्ने गरि पातुखोलामा पुलको निर्माण गर्न आग्रह गरे । अन्य स्थानीयले पनि कृषीपेशामा निर्भर भएकाले उन्नतजातको विउँविजन तथा आधुनिक खेतिप्रविधिका लागि सहयोग र तालीमको व्यवस्था गर्नु पर्ने भन्दै महिलाहरुका लागी आयआर्जन मुखी सिप सिकाएर रोजगारीका अवसर सृजना गर्नु पर्ने बताएका छन् । कार्यक्रममा आयोजक क्लवले विभिन्न माग समेटिएको ज्ञापन पत्र समेत नगरप्रमुखलाई बुझाएको थियो ।

सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले विभेदरहित तवरले विकास निर्माणका गतिलाई अघि बढाउने बताउनुभयो । ‘कसले भोट दियो कसले दिएन मैले त्यो हेर्ने छैन, असार १४ गते सम्म कुनै दलको उम्मेदवार थिए अब सवैको साझा जनप्रतिनीधि भएको छु, ‘नगर प्रमुख पाण्डेले भन्नुभयो’ हरेक वडा, गाउँ, टोलको विकासका लागी प्रतिवद्धछु ।’

क्लवका अध्यक्ष एकराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेकपा एमाले जिल्ला कमिटी दाङका सदस्य विनोद शर्मा, माओवादी केन्द्रका कलीभान रोका, महिलाको तर्फबाट पदमा शर्मा, झविलाल घिमिरे, लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्लवका सदस्य चेतमान सेजवालले गर्नुभएो थियो ।

 

 

प्रकाशित मिति : २०७४ साउन २६ गते बिहिवार
प्रतिक्रिया