तुलसीपुर,१२ साउन । दाङको बिजौरीमा जग्गाको सिमा विवादका कारण कुटाकुट हुँदा दुई जना घाईते भएका छन् । तुलसीपुर १८ बिजौरीको डौडरमा गएराती जग्गाको सिमाका कारण विवाद हुँदा एकै घरका बाबु छोरा गम्भीर घाईते भएका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिमिल्सीनाका अनुसार ६४ वर्षिय बुवा नरबहादुर खड्का र उहाँकै ३३ वर्षिय छोरा रामबहादुर खड्का गम्भीर घाईते हुनुभएको छ । फरुवा र भाटा प्रहारबाट घाईते दुबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज पठाईएको छ ।
कुटाई बाट नरबहादुरको दुइवटा करङ भाँचीएको र रामबहादुरको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । कुटपीटगरी घाइते बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिजौरी डोरचौरका बसन्त बस्नेत, इन्द्र बस्नेत, नारायण बस्नेत र बिमल बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सीनाले जानकारी दिनुभयो ।