मन्त्रीमण्डल विस्तार : देउवाले जोशीलाई रुवाए,प्रचण्डले श्रेष्ठलाई धोका दिए

काठमाण्डौ,११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।

सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री हुनुभएको छ । नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् ।

यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्तिमन्त्री बन्नुभएको छ ।

यस्तै, सन्तकुमार थारु चौधरी पशुपन्छी विकास तथा आशा खनाल कोइराला महिला तथा बालबालिका मन्त्री बन्नुभएको छ । थपिएका मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण गर्नुभएको छ ।

 

देउवाले जोशीलाई रुवाए
यता प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको सपथ खान ठिक्क परेका कांग्रेस सांसद अर्जुन जोशीलाई अन्तिम समयमा रोकेर रुवाएका छन् । सपथ खान दौरा सुरुवाल लगाएर तयार भएका जोशी आफ्नो नाम मन्त्रीको सूचीबाट हटाएको सुनेपछि भक्कानिदै आँसु झारेका हुन् ।

उनी त्यसपछि पार्टी नेतृत्वप्रति निराश छन् । कोइराला समूहका जोशी १३ औं महाधिवेशनमा देउवा समूहमा आएका थिए । उनले महाधिवेशनमा देउवालाई निकै सहयोग गरेका थिए । त्यसको बदलामा अहिले देउवाले धरधरी रुने अवस्थामा ल्याएर छाडिदिएको कांग्रेसीहरु बताउँछन् ।

जोशीलाई अन्तिम समयमा हटाएर देउवाले आफ्नै समूहका केन्द्रीय सदस्य महेन्द्र यादवलाई मन्त्री बनाइदिए । यता जोशीको भने अन्तिम समयमा मन्त्री पद खोसियो ।

प्रचण्डले श्रेष्ठलाई धोका दिए

रामेछापबाट प्रत्यक्ष निर्वा्चित माओवादी सांसद श्यामकुमार श्रेष्ठले आफूमाथि धोका भएको भन्दै राज्यमन्त्री पद नै अस्वीकार गरे । पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन खोजेको भन्दै सांसद श्रेष्ठले आपत्ति जनाउँदै पद अस्वीकार गरेका हुन् ।

माओवादीबाट आज सपथ लिएका ६ जना मन्त्रीमा उनको नाम थियो । तर, बीचमै एकाएक गायव भएर उनीमाथि धोका भयो । उनलाई फकाउन राज्यमन्त्रीको प्रस्ताव गरियो । तर, उनले अस्वीकार गरे ।

प्रकाशित मिति : २०७४ साउन ११ गते बुधवार
प्रतिक्रिया