आज मन्त्रिमण्डल विस्तारको तयारी, कुन पार्टीबाट को बन्दै छन मन्त्री (हेर्नुहोस)

 

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले बुधबार दिउँसोसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनभयो । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्त लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने उहाँले बताउनुभयो ।

कांग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुने चर्चा छ ।  यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ ।

यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ । यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एकजना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

त्यसैगरी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

प्रकाशित मिति : २०७४ साउन ११ गते बुधवार
प्रतिक्रिया