तुलसीपुर,५ साउन । स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो । असार १४ गते भएको दोस्रो चरणको चुनावको मतदानको दिन दाङको तुलसीपुर उपमहानगरपालिका – ३ स्थित आधारभूत विद्यालय प्रतापकोट अन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो ।
हबल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाउनुभएको थियो । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।।
प्रकाशित मिति : २०७४ साउन ५ गते बिहिवार