रोटरी क्लब तुलसिपुरद्धारा प्रमुख पाण्डेलाई स्वागत

तुलसीपुर,३१ असार । रोटरी क्लब अफ तुलसिपुर सिटीले तुलसिपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएका घनश्याम पाण्डेलाई एक कार्यक्रमको आयोजना गरी स्वागत एवम् सम्मान गरेको छ । क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा बसेको ४ सय २९औ साप्ताहिक नियमित बैठक विश्व शान्तीका लागि १५ सेकेण्डको मौनधारण संगै सुरु भएको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष धर्मेन्द्र बैश्यले स्वागत गर्नु भएको थियो भने भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले प्रमुख अतिथी पाण्डेको परिचय गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पाण्डेले विगतमा स्वयम् आफु पनि रोटरी क्लब अफ तुलसिपुरमा आबद्ध रहेको र अझै पनि रोटरी क्लबमा जोडिन ईच्छुक रहेको कुरा बताउनु भएको थियो ।

तुलसिपुरलाई स्मार्ट सिटीको रुपमा बिकसित गराउने आफ्नो सपनामा यहाँका सम्पूर्ण निकाय, तह र तप्काका नागरिकहरुको पनि उत्तिकै भूमिका रहनुपर्ने कुरामा उहाले जोड दिनुभएको थियो । उहाले सामाजिक कार्यमा रोटरी क्लब अफ तुलसिपुर सिटीले खेलेको भूमिका प्रति सराहना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रमुख अतिथी पाण्डेलाई मायाको चिनो प्रदान गर्दै तुलसिपुर उपमहानगरपालिकासँग समन्वय गरेर रोटरीको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै हरेक सामाजिक कार्यमा हातेमालो गर्न रोटरी क्लब अफ तुलसिपुर सिटी तयार रहेको कुरा बताउनु भएको थियो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसिपुरका अध्यक्ष सचिन पौडेल रोटरी क्लबका पूर्व अध्यक्ष कुशल तर्ताल, बिमल रिजाल, बिजय केसी, ललित बहादुर घर्ती, निवर्तमान अध्यक्ष विर बहादुर रावतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण महासचिब डम्बर बहादुर डांगीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ असार ३१ गते शनिवार
प्रतिक्रिया