पाल्पामा बाढीले जीप बगायो, चार जना बेपत्ता

पाल्पा,२६ असार । पाल्पामा विवाहको भोजमा गएर फर्किदै गरेको जीप बाढीले बगाएर बेपत्ता बनाएको छ । गएराती बगाएको जीपमा ४ जना रहेका थिए । तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३ अम्लियानको सीमामा पर्ने तिनाउ नदीमा आएको बाढीले लु १ ज १२ १७ नम्बरको जीप बगाएको प्रहरीको भनाइ छ ।

बेपत्ता हुनेमा नदीमा हराइरहेकामा चालकी श्रीमती उषा श्रेष्ठ, पदमबहादुर कुँवर तथा तिलबहादुर गाहा र उहाँकी श्रीमती माया रहेका छन् । बाढीमा डुबेकाको उद्धारमा ढिलाई भएको पीडित परिवारले गुनासो गरेका छन् । चलिरहेको गाडी खोलामा पुग्दा एक्कासी बन्द भएपछि उनीहरुले सदरमुकाम तानसेनमा रहेका आफन्त र प्रहरीलाई खबर गरेका थिए ।

सदरमुकाम तानसेनबाट चालक श्रेष्ठका आफन्त पुगेर डोरीको सहायताले श्रेष्ठलाई उद्धार गर्न सफल भएपनि अरु चारजना गाडीसहित बेपत्ता भएका हुन् । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजी भइरहेको बताएको छ । तर पानीको सतह बढेकाले खोजी कार्यमा अप्ठ्यारो भएको बताएको छ ।

 

प्रकाशित मिति : २०७४ असार २६ गते सोमवार
प्रतिक्रिया